राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह जेठ २७ मा

जनकपुरधाम, २३ जेठ । राजर्षिजनक विश्वविद्यालयले आफ्नो पहिलो ऐतिहासिक दीक्षान्त समारोह जेठ २७ गते जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गर्ने भएको छ । समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य रहनेछ ।
स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण भएका तीन ब्याचका ११५ जना विद्यार्थीलाई दीक्षित गरिने कार्यक्रम तय भएको छ । विश्वविद्यालयका अनुसार २०८२ साल जेठ ५ गतेसम्म शैक्षिक कार्यक्रम उत्तीर्ण गरी ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीहरू दीक्षित हुन योग्य छन् ।
उक्त समारोहलाई भव्य, शिष्ट र स्मरणीय बनाउन रजिष्ट्रार सत्यनारायण साहको संयोजकत्वमा १५ सदस्यीय मूल समिति गठन गरिएको छ भने तयारीका लागि प्राध्यापक, कर्मचारी र विद्यार्थी सम्मिलित १६ वटा उपसमितिहरू समेत गठन गरिएका छन् ।
समारोहमा दीक्षित हुने विद्यार्थीहरूले दुई जना अभिभावकलाई साथ ल्याउन सक्ने व्यवस्था मिलाइएको छ । दीक्षान्तमा विश्वविद्यालय स्तरमा उत्कृष्ट हुने चार जना र विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० जना विद्यार्थीलाई पदक प्रदान गरिने परीक्षा सह–नियन्त्रक दिलिपकुमार यादवले जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले यो दीक्षान्त समारोहले विश्वविद्यालयको शैक्षिक उचाइ र संस्थागत गरिमा प्रस्तुत गर्ने अवसर भएको उल्लेख गर्दै सम्पूर्ण विश्वविद्यालय परिवार एकजुट भएर तयारीमा जुटेको बताए । उनले भने, ‘यो हाम्रो लागि ऐतिहासिक अवसर हो । यसले विश्वविद्यालयको भावी पहिचान निर्माण गर्नेछ ।’
रजिष्ट्रार साहले दीक्षान्त समारोह जनकपुरधाममा आयोजना हुनुले मधेश प्रदेशवासीको लागि गौरवको क्षण भएको बताए । साथै, समारोहपूर्व प्रधानमन्त्री ओलीको अध्यक्षतामा विश्वविद्यालय सभाको बैठक (सिनेट) बस्ने कार्यतालिका पनि तय गरिएको छ ।
राजर्षिजनक विश्वविद्यालय २०७४ कात्तिक १२ गते स्थापना भएको हो । हाल विश्वविद्यालय अन्तर्गत पाँच आंगिक क्याम्पसहरू छन् भने देशभरका ६८ वटा कलेजले सम्बन्धन लिएका छन् । विश्वविद्यालयमा एमफिल, एमबीए, बीबीए, बीई–सिभिल, बीआईटी, बीसीए, बीएससी–सीएसआईटी, बीपीएच, बीएससी–एमएलटी, बीएससी–एजी, बीए–एलएलबी, बीजेएमसी लगायतका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

