जनकपुरधाम, २३ जेठ । जनकपुरधाममा निर्माण सम्पन्न ‘मैथिली विकास कोष’को भवन शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गर्दै यसलाई केवल भौतिक पूर्वाधारको रूपमा मात्र सीमित नराखी मैथिली भाषा, कला, साहित्य र परम्पराको संरक्षण र प्रवर्द्धनमा केन्द्रित ‘कर्मशील संस्था’का रूपमा उपयोग गर्न आग्रह गरेका छन् ।

मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो भवनलाई मिथिला सभ्यता र संस्कृतिको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यका साथ निर्माण गरिएको हो ।

उद्घाटन समारोहमा देउवाले भने, ‘भवन मात्रै ठूला बनाउँदा पर्याप्त हुँदैन । यो भवन ज्ञान, शिप, भाषा र संस्कृति सँग जोडिएको केन्द्र बन्नुपर्छ । मैथिली भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन यहीँबाट शुरु होस् ।’

सभापति देउवाले मैथिली भाषा नेपालको संविधानले मान्यता दिएको राष्ट्रिय भाषा भएको उल्लेख गर्दै राज्यस्तरबाट यसको संरक्षण र विकासका लागि ठोस पहल आवश्यक रहेको धारणा राखे । ‘यो भवन केवल ईँटा र सिमेन्टको संरचना मात्र होइन,’ उनले भने, ‘यो साहित्यिक गोष्ठी, सांस्कृतिक अभ्यास, भाषा अनुसन्धान र सामाजिक संवादका लागि एक सशक्त थलो बनोस् ।’

उनले मैथिली विकास कोषलाई सक्रिय, जीवन्त र प्रभावकारी संस्था बनाउँदै मिथिला सभ्यताको पुनरुत्थानमा अग्रणी भूमिका खेल्न सुझाव दिए । देउवाले मधेश प्रदेशको नामकरणसम्बन्धी धारणा व्यक्त गर्दै आफू ‘जनक–जानकी प्रदेश’ नामको पक्षमा रहेको बताए । ‘राजा जनक केवल ऐतिहासिक पात्र होइनन्, उहाँलाई ‘राजर्षि’को रूपमा सम्मान गर्नुपर्छ,’ उनले भने ।

भवनमा १५ भन्दा बढी बहुउपयोगी कक्षहरू निर्माण गरिएको छ । यसमा मिथिलाको सांस्कृतिक धरोहर झल्किने विशेष नामकरण गरिएको छ । कोषका अध्यक्ष जिवनाथ चौधरीका अनुसार विद्यापति कक्ष (अध्ययन तथा अनुसन्धान केन्द्र), जानकी कक्ष (संग्रहालय), डा. धीरेन्द्र कक्ष (प्रशिक्षण तथा वृत्ति विकास), सलहेस कक्ष (आर्ट ग्यालरी), दीनाभद्री कक्ष, शास्त्री कक्ष (सञ्चार तथा प्रविधि), याज्ञवल्क्य कक्ष, मिथिला सहिद कक्ष तथा एकैपटक ४ सय जना अट्न सक्ने राजर्षि जनक सभाकक्ष समेत भवनभित्र रहेका छन् ।

सांस्कृतिक संग्रहालय, पुस्तकालय, मिथिला चित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्य–दृश्य कार्यसम्पादन कक्ष, सेमिनार हल र व्यावसायिक प्रशिक्षण कक्ष समेत भवनमा समावेश छन् । यसमा लिफ्टको सुविधा पनि प्रदान गरिएको छ ।

भवनभित्र मिथिलामा प्रयोग हुँदै आएका परम्परागत तर लोपोन्मुख वस्तुहरूको पनि प्रदर्शन गरिएको छ । ढेकी, उखर समाठ, धान राख्ने कोठी, काठको बाकस (सन्दुक), माटोको चुल्होलगायत सामग्री राखिएको छ । यसले मिथिलाको मौलिक जीवनशैलीलाई प्रतिविम्बित गर्छ ।

भवन उद्घाटन समारोह भव्य सांस्कृतिक वातावरणमा सम्पन्न भयो । परम्परागत मैथिली संस्कृति झल्काउने स्वागत कार्यक्रम, स्थानीय खाजाका परिकार र मौलिकता झल्काउने सजावट कार्यक्रमको विशेषता बने । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलका नेताहरू, मधेश प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री, मुख्यमन्त्री तथा भवन निर्माणमा संलग्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । उनीहरूलाई समारोहमा सम्मान गरिएको थियो ।

मैथिली भाषा, साहित्य, चित्रकला, हस्तकला, लोक परम्परा र मिथिला सभ्यताको संरक्षण तथा समग्र विकासका लागि निर्माण गरिएको यो भवन अब मिथिला क्षेत्रको सांस्कृतिक पहिचान जगेर्नाको सशक्त माध्यम बन्ने अपेक्षा गरिएको छ ।