जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पर्यटन र लगानी प्रवर्द्धनमा ठूला पहल गर्ने घोषणा गरेको छ ।

शुक्रबार प्रदेश सभामा प्रस्तुत प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत ‘मधेश लगानी सम्मेलन’ र ‘डायस्पोरा समिट’ आयोजना गर्ने योजना सार्वजनिक गरिएको हो ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रस्तुत उक्त दस्तावेजमा मधेशका धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरूको संरक्षण, विकास र प्रचारमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यस अन्तर्गत नयाँ पूर्वाधार निर्माण, स्थानिय कला–संस्कृतिको संरक्षण र पर्यटकीय सुविधा विस्तारमा प्रदेश सरकार अघि बढ्नेछ ।

जनकपुरधामलाई केन्द्रमा राख्दै प्रदेश सरकारले धार्मिक पर्यटन प्रवर्द्धनमा प्राथमिकता दिने बताएको छ । धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको जनकपुरधामलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न विविध कार्यक्रम सञ्चालन गरिनेछ । ‘जनकपुरधामलाई देशको गौरवको रूपमा स्थापित गर्ने प्रयास हुनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘मधेश लगानी सम्मेलन’ र ‘डायस्पोरा समिट’मार्फत देश तथा विदेशका लगानीकर्तालाई आकर्षित गरिनेछ । सम्मेलनमा प्रदेशमा रहेका लगानी अवसरहरूको प्रचार गरिने र पर्यटनसँग जोडिएका परियोजनाहरू प्रस्तुत गरिने योजना छ । साथै, विदेशी पर्यटकलाई आकर्षण गर्न व्यापक प्रचार–प्रसार र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पर्यटन प्रवर्द्धनसँगै होटल, रेस्टुरेन्ट, यातायात, सञ्चारजस्ता पूर्वाधारको विकासमा पनि सरकारले ध्यान दिनेछ । यी योजनाले रोजगारी सिर्जना गर्ने र मधेशको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रदेश सरकारको विश्वास छ ।

कृषिमा नवप्रविधिको प्रयोग, पर्यटन पूर्वाधार विस्तार र निजी क्षेत्रको सहभागिताबाट मधेशलाई समृद्ध बनाउने सरकारको नीति प्रस्ट देखिन्छ । नीति तथा कार्यक्रमले मधेश प्रदेशको दिगो विकास र समावेशी समृद्धिको आधार तयार गर्ने दाबी गरेको छ ।