तिरहुतीया गाछीमा ६ सय बिरुवा रोप्दै विश्व वातावरण दिवस मनाइयो

जनकपुरधाम, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले ऐतिहासिक र सांस्कृतिक महत्वको तिरहुतीया गाछीमा वृक्षारोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएको छ । बिहीबार सम्पन्न कार्यक्रममा ६०० वटा पिपल, बर, आँप, जामुन र पाखरका बिरुवा रोपिएका छन् ।
कार्यक्रममा उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको विशेष उपस्थिति रहेको थियो । वृक्षारोपणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साहले वातावरणीय असन्तुलन, वायुप्रदूषण र हरित क्षेत्रको अभाव जस्ता चुनौतीहरू सामना गर्न वृक्षारोपण अभियान सुरु गरिएको जानकारी दिए ।
‘जनकपुरधामलाई हरियाली र स्वच्छ बनाउन उपमहानगरपालिकाले आगामी दिनमा थप एक हजार बिरुवा रोप्ने योजना बनाएको छ,’ उनले भने ।
उक्त कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधिहरू, सामाजिक संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । वृक्षारोपणका माध्यमबाट वातावरणप्रति जनचेतना अभिवृद्धि गर्न र शहरको हरियाली विस्तार गर्न उपमहानगरपालिकाले विभिन्न सार्वजनिक स्थल र चोकमा पनि वृक्षारोपण अभियान सञ्चालन गर्ने जनाएको छ ।

