जनकपुरधाम, २२ जेठ । प्राचीन मिथिलाको धार्मिक राजधानी जनकपुरधाममा बिहीबार गंगा दशहरा पर्व श्रद्धा, भक्ति एवम् हर्षोल्लासका साथ मनाइएको छ ।

परम्परागत धार्मिक विधिअनुसार ऐतिहासिक दशरथ तलाव र गंगासागर सरोवरमा स्नान गर्दै हजारौं श्रद्धालु भक्तजनले पवित्र स्नान र पूजा अर्चनामा सहभागी भएका हुन् ।

गंगा दशहराको दिन बिहानैदेखि जनकपुरधामका प्रमुख धार्मिक स्थलहरूमा भक्तजनहरूको घुइँचो लागेको थियो । श्रद्धालुहरूले सर्वप्रथम दशरथ मन्दिरमा पूजा–अर्चना गरेपछि मात्र जानकी मन्दिर, जनक मन्दिर तथा अन्य मठ–मन्दिरहरूको दर्शन गरेका थिए । यस दिन दशरथ मन्दिरमा पूजा गर्नु पहिलो कर्तव्यका रूपमा लिने परम्परा स्थानीय स्तरमा छ ।

नेपाल र भारतका विभिन्न स्थानबाट आएका तीर्थयात्रीहरू गंगा दशहरा मेलामा सहभागी हुन जनकपुरधाम आइपुगेका थिए । दशरथ मन्दिर परिसर, गंगासागर क्षेत्र र जानकी मन्दिर आसपासको क्षेत्र श्रद्धालुहरूको भीडले भरिएको थियो ।

गंगाको आगमनको स्मरणमा मनाइने यस पर्वको ऐतिहासिक सन्दर्भ के हो भने मर्यादा पुरुषोत्तम भगवान रामका पूर्वज राजा भागिरथले आफ्ना पितृहरूको उद्धारको निम्ति कठोर तपस्या गरी गंगालाई पृथ्वीमा अवतरण गराएका थिए ।

यही स्मृतिमा गंगा दशहरा पर्व मनाउने परम्परा रहेको धार्मिक विश्वास छ । पुजापछि श्रद्धालुहरूले प्रसादका रूपमा आँप, च्युरा, दही र सखर ग्रहण गर्ने चलनअनुसार बजारमा ती सामग्रीहरूको व्यापार निकै बढेको थियो । फलफूल, पूजा सामग्री र प्रसादका पसलहरूमा चहलपहल देखिन्थ्यो ।

गंगा दशहरा पर्वको विशेष आकर्षणको रूपमा साँझपख जनकपुरधामको गंगासागर सरोवरमा भव्य ‘महागंगा आरती’ आयोजना गरिएको थियो ।