जनकपुरधाम, २२ जेठ । मधेश प्रदेशमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधारको उद्देश्यसहित अगाडि बढाइएको मूल्यांकन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारले एशियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधि अपनाउँदै सार्वजनिक वित्तीय प्रणालीको प्रभावकारिता, पारदर्शिता र उत्तरदायित्वसम्बन्धी मापदण्डमा आधारित मूल्यांकन गरिरहेको छ ।

बिहीवार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री सतिश कुमार सिंह र एडीबी प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो । एडीबीका नेपालस्थित निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वमा आएको टोलीले मूल्यांकनको हालसम्मको प्रगति, प्रारम्भिक निष्कर्षहरू र आगामी कार्ययोजनाबारे मुख्यमन्त्री सिंहलाई जानकारी गराएको छ ।

भेटका क्रममा मुख्यमन्त्री सिंहले सार्वजनिक सेवा प्रवाहमा वित्तीय अनुशासन, पारदर्शिता र जनउत्तरदायी प्रणाली निर्माण गर्न प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको बताए । ‘हामी विकासमा वित्तीय अनुशासन र प्रभावकारिता कायम गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साहका साथै एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठक समेत सहभागी थिए ।

एडीबीका प्रतिनिधिहरूले मधेश प्रदेशले पिएफएम मूल्यांकनमा देखाएको सक्रियता र समन्वयको सराहना गर्दै यसले भविष्यमा बजेट कार्यान्वयन, योजना निर्माण र लेखा परीक्षण प्रणालीमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे ।

नेपालमा गण्डकी प्रदेशले यसअघि नै पिएफएम मूल्यांकन प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ । एडीबी टोलीका अनुसार मधेश प्रदेश दोस्रो प्रदेश हो । यहाँ मूल्यांकन अन्तिम चरणमा पुगेको हो ।