जनकपुरधाम, जेठ २२ । मधेश प्रदेश सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमपालन र जनचेतनामा जोड दिँदै ‘ट्राफिक सचेतनामूलक सप्ताह’ सुरु गरेको छ ।

गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको औपचारिक उद्घाटन बुधबार जनकपुरधाममा प्रभातफेरीका साथ भएको हो । गृहमन्त्री राजकुमार लेखीले प्रभातफेरीमार्फत कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सप्ताहव्यापी अभियानको उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघनको समस्या गम्भीर रहेको भन्दै त्यसविरुद्ध संयुक्त प्रयास आवश्यक रहेको बताए । ‘अन्य प्रदेशको तुलनामा मधेशमा नियम उल्लंघनको दर उच्च देखिएको छ,’ उनले भने, ‘जबसम्म हरेक नागरिकले नियम पालना गर्ने बानी बसाल्दैन तबसम्म दुर्घटना रोक्न सकिँदैन ।’

मुख्यमन्त्री सिंहले सवारीसाधन चलाउनेहरूको मनोविज्ञान, अनुशासन र सतर्कतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै सबैले आजैदेखि नियम पालना सुरु गर्न आग्रह गरे । ‘यो केवल कानुनी विषय मात्र नभई जीवनको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो,’ उनले भने ।

गृहमन्त्री लेखीले भने, ‘हरेक युवासँग अहिले दुई पाङ्ग्रे सवारीसाधन देखिन्छ । तर, त्यसको प्रयोगमा अत्यधिक लापरवाही पाइन्छ । ट्राफिक नियमको अवहेलन, मादक पदार्थ सेवन गरेर सवारी, हेलमेटको बेवास्ता, तीव्र गतिमा सवारी चलाउनेजस्ता कारणले सयौं युवाले हरेक वर्ष ज्यान गुमाइरहेका छन् ।’ उनले सवारी प्रयोग गर्दा देखिने बेवास्तीपूर्ण प्रवृत्तिलाई रोक्न परिवार, समुदाय र सरकार सबै पक्ष मिलेर सचेतना अभियानलाई जनस्तरसम्म लैजानुपर्ने धारणा राखे ।

जनचेतनामूलक ट्राफिक सप्ताह अन्तर्गत विद्यालय, क्याम्पस, व्यवसायिक केन्द्रहरू, यातायात पार्क, बजार र चोकहरूमा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ । प्रभातफेरी, सडक नाटक, पोस्टर प्रदर्शन, नियमसम्बन्धी प्रशिक्षण, हेलमेट अनुगमन र ट्राफिक शिक्षा कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कार्यक्रममा गृहसचिव बिमल प्रसाद बराल, नेपाली सेना, सशस्त्र प्रहरी, प्रदेश प्रहरी, अनुसन्धान निकायका उच्च अधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति थियो ।