जनकपुरधाम, २२ जेठ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशका युवाहरूमा लक्ष्य र उद्देश्यको अभाव रहेको टिप्पणी गरेका छन् ।

जनकपुरधाममा राष्ट्रिय युवा परिषद्को आयोजनामा सम्पन्न ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२’ मा बोल्दै मन्त्री चौधरीले युवामा विचार, दृष्टिकोण र सोचको स्पष्टता नहुँदा कुनै पनि क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको धारणा राखेका हुन् ।

‘मधेशमा युवाको संख्या प्रशस्तै छ । तर, सोच र प्रतिबद्धताको कमीले गर्दा तिनीहरू जीवनका लक्ष्यप्रति गम्भीर देखिँदैनन्,’ मन्त्री चौधरीले भने, ‘शिक्षा, स्वास्थ्य वा अन्य कुनै पनि क्षेत्रमा युवाबाट उल्लेखनीय उपलब्धि नदेखिनु दुःखद हो ।’

उनले समाज रूपान्तरणजस्तो गहिरो विषयभन्दा पनि युवाहरू भौतिक सम्पत्तिको पछाडि मात्र लागेकोप्रति चिन्ता व्यक्त गरे । ‘हामी समाज रूपान्तरण नभई सम्पत्ति आर्जनमा अल्झिएका छौं,’ मन्त्री चौधरीले भने, ‘यही सोचले मधेसका युवालाई दिशाविहीन बनाइरहेको छ ।’

कार्यक्रममा मन्त्री चौधरीले मधेशमा खेलकुदको विकास सुस्त भएको तथ्य स्वीकार गर्दै गहिरो चिन्ता व्यक्त गरे । ‘क्रिकेटमा केही गतिविधि देखिए पनि अन्य खेलमा युवाको उपस्थिति न्यून छ,’ उनले उल्लेख गरे । उनका अनुसार मधेशले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न नसक्नु दुःखद विषय हो । यसका पछाडि पूर्वाधारको कमी, नीति कार्यान्वयनमा कमजोरी र युवाको अनिच्छा तीनै मुख्य कारण छन् ।

मन्त्री चौधरीले युवालाई सिर्जनशील, उद्यमशील र सामाजिक उत्तरदायित्वमा जागरुक बन्न आग्रह गर्दै भने, ‘अबको युग सिर्जनशीलताको हो । सोचमा परिवर्तन ल्याई देश र समाजमा योगदान दिने दिशा रोज्नुपर्छ ।’

उनले मधेश प्रदेशमा खेलकुद पूर्वाधारको न्यूनता र युवा लक्षित कार्यक्रमको अभावलाई स्वीकार गर्दै आउँदा दिनमा ती कमीकमजोरी सम्बोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।