जनकपुरधाम, २२ जेठ । विश्व वातावरण दिवस–२०८२ को अवसरमा चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधामको रेलवे स्टेशन परिसरमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

‘एक घर, एक वृक्ष’ भन्ने नारासहितको कार्यक्रममा वातावरणीय चेतना अभिवृद्धि गर्दै चुरे क्षेत्रको संरक्षणमा सामूहिक पहल आवश्यक रहेको धारणा व्यक्त गरिएको छ ।

कार्यक्रममा बोल्दै अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले वृक्षारोपणलाई अब स्वेच्छिक नभई बाध्यताका रूपमा लिनुपर्ने समय आएको बताए । ‘वृक्ष भनेको अक्सिजनको कारखाना हो । यही जीवनदायिनी स्रोतलाई जोगाउन अब प्रत्येक घरमा कम्तीमा एक बोट अनिवार्य रूपमा रोपिनुपर्छ,’ संयोजक यादवले भने । उनले जलवायु परिवर्तनको असरबाट जोगिन वृक्षारोपणलाई दीर्घकालीन रणनीतिका रूपमा लिनुपर्नेमा जोड दिए ।

‘यदि चुरे क्षेत्रमा तत्काल वनरोपण गरिएन भने मधेश मरुभूमी बन्न सक्छ,’ यादवको चेतावनी थियो । कार्यक्रममा अभियानका केन्द्रीय प्रवक्ता प्रमोद कुमार साह, मधेश प्रदेश संयोजक अमन यादव, चुरे अभियानीहरू, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत रेलवे स्टेशन क्षेत्र वरपर विभिन्न प्रजातिका बिरुवाहरू रोपिए । सहभागीहरूले चुरे दोहन, अवैध वन कटानी र पर्यावरणीय असन्तुलनको विरुद्ध जनस्तरबाट दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

अभियानका प्रवक्ता साहले वृक्षारोपणलाई एकदिने कर्मकाण्डमा सीमित नराखी निरन्तर अभियानका रूपमा सञ्चालन गरिनुपर्ने बताए । ‘आज रोपिएको बोट भोलीको स्वच्छ हावाको ग्यारेन्टी हो,’ उनले भने ।

चुरे संरक्षण अभियानले आगामी दिनमा वृक्षारोपण तथा पर्यावरणीय चेतनामूलक कार्यक्रमलाई वर्षभर निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।