जनकपुरधाम, २२ जेठ । ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं, वातावरण संरक्षण गरौं’ भन्ने मूल नाराका साथ जनकपुरधाममा विश्व वातावरण दिवस विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ ।

ग्रीन स्पेस नेपालको नेतृत्वमा दुई दर्जनभन्दा बढी संघसंस्थाको संयुक्त प्रयासमा आयोजित कार्यक्रममा ‘बिट द प्लास्टिक च्यालेन्ज’ अभियान विशेष आकर्षण बन्यो ।

जनक चोकदेखि शुरु भएर राम चोक, शिव चोक, गंगासागर हुँदै पुनः जनक चोकमै टुंगिएको सफाइ यात्रामा जनकपुरधामका दुई विद्यालय र एक कलेजका ५० विद्यार्थीले सहभागिता जनाए । सहभागीहरूले बाटोभरि रहेका प्लास्टिकजन्य फोहोर संकलन गर्दै वातावरणीय सन्देश फैलाए । अभियानबाट जम्मा ४९.८५ किलो प्लास्टिक फोहोर संकलन गरिएको आयोजक संस्थाले जनाएको छ ।

तौलका आधारमा उत्कृष्ट तीन समूहलाई ट्रफी र पदक प्रदान गरेर सम्मान गरिएको थियो । यस्तै, जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा तिरहुतिया गाछी क्षेत्रमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो । त्यहाँ सहभागीहरूले विभिन्न जातका बिरुवाहरू रोपे ।

कार्यक्रमका संयोजक तथा ग्रीन स्पेस नेपालका अध्यक्ष धिरज साहले सामूहिक प्रयासमार्फत प्लास्टिक प्रदूषणविरुद्ध सशक्त सन्देश दिन खोजिएको उल्लेख गर्दै भने, ‘यस्ता सचेतनामूलक कार्यक्रमहरूले दीर्घकालीन वातावरणीय सुरक्षामा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छौँ ।’

कार्यक्रममा वातावरण मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेश, नेपाल डेभलपमेन्ट सोसाइटी, इन्सेक नेपाल, एडभोकेसी फोरम, वोरेक लगायतका संघसंस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।