जनकपुरधाम, २२ जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार सन् २०८४ सालसम्म टिक्ने दाबी गरेका छन् ।

दुई दिने धनुषा भ्रमणमा रहेका सभापति देउवाले संविधानसम्मत ढंगले बनेको सरकारलाई कमजोर पार्ने प्रयास अनुचित भएको भन्दै गठबन्धन स्थायीत्वको बाटोमा अघि बढिरहेको बताएका छन् ।

नेता देउवा नेपाली कांग्रेसका दिवंगत नेता ठाकुर प्रसाद ढुङ्गानाको ६२औं स्मृति दिवसको अवसरमा आयोजित सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका हुन् । कार्यक्रममा वरिष्ठ नेता विमलेन्द्र निधिसहित पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पछिल्ला दिनमा प्रतिनिधिसभामा देखिएको अवरोधप्रति आपत्ति जनाउँदै भने, ‘गठबन्धन संविधानअनुसार बनेको हो, त्यसलाई बारम्बार संसदमा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान हो ।’

उनले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई तर्कहीन र भ्रामक भन्दै संसद अवरोध गर्नुका पछाडि राजनीतिक स्वार्थ रहेको आरोप लगाए । ‘संसद् चल्नैपर्छ, जनताको मुद्दा त्यहींबाट उठ्छ,’ देउवाले भने ।

पूर्वराजा समर्थक समूहद्वारा भइरहेको गणतन्त्रविरोधी गतिविधिलाई देउवाले ‘अर्थहीन आन्दोलन’ भन्दै कडा आलोचना गरे । ‘राजावादी आन्दोलन तुहिइसकेको छ, जनताले बहुदलीय लोकतन्त्रलाई आत्मसात गरिसकेका छन्,’ उनले भने । उनले गणतन्त्रविरोधी गतिविधिलाई राष्ट्रविरुद्धको कार्य भन्दै जनताको त्याग र बलिदानमाथि कुठाराघात भएको टिप्पणी गरे ।

आर्थिक वर्ष २०८२/८३ को बजेटबारे बोल्दै सभापति देउवाले सरकारले ल्याएको बजेटलाई सन्तुलित, समावेशी र उत्पादनमुखी भन्दै यसले समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । ‘बजेटले विकास, रोजगारी र समावेशी योजनालाई प्राथमिकता दिएको छ,’ उनले उल्लेख गरे ।

मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावनाबारे देउवाले भने, ‘सरकार नेताहरूको आकांक्षाबाट होइन, जनताको चाहनाबाट बन्छ । यदि जनताले चाह्यो भने मधेशमा पनि कांग्रेसको सरकार बन्न सक्छ ।’

सभापति देउवाले जनकपुर भ्रमण अन्तर्गत विभिन्न भेटघाट, अन्तक्र्रिया तथा कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम रहेको छ भने शुक्रबार उनले मैथिली विकास कोषको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यतालिका छ ।