जनकपुरधाम, २२ जेठ । गंगासागर दशहराको विशेष अवसर पारेर जनकपुरधाममा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको महागंगा आरतीको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

जनकपुरधामको सभ्यताको परिचायक मानिने गंगासागरमा ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ को अगुवाइमा बिहीबार साँझ आयोजित उक्त आरती समारोहमा हजारौं भक्तजन, श्रद्धालु, धार्मिक अगुवा र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

कार्यक्रमको आकर्षण भनेको विधिपूर्वक गरिएको भव्य महागंगा आरती, दीप प्रज्वलन, संस्कृत श्लोक पाठ र सांस्कृतिक प्रस्तुतिहरू थिए । यसले उपस्थित सबैको मन जितेको थियो । गंगासागरको किनारमा दीपहरू झिलिमिली झल्किंदै गर्दा वातावरण दिव्य र आध्यात्मिक बन्यो ।

११ वर्षअघि सुरु गरिएको गंगासागर आरती जनकपुरधामको सांस्कृतिक जीवनशैलीको अभिन्न अंग बन्दै गएको छ । प्रत्येक साँझ नियमित रूपमा आयोजना गरिने यो आरतीले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत ठूलो भूमिका खेलेको सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादवले बताए । विशेष पर्व वा तिथिमा यसको आकर्षण झन् बढ्ने गरेको उनले बताए ।

सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष यादवले भने, ‘गंगासागर महागंगा आरती हाम्रो सांस्कृतिक मूल्यमान्यताको संरक्षण र प्रवर्द्धनका लागि प्रारम्भ गरिएको प्रयास हो । जनकपुरधामको गरिमा बढाउने यस्तो आयोजनालाई आगामी दिनमा अझै व्यवस्थित र भव्य बनाइनेछ ।’

महागंगा आरती वार्षिकोत्सवले धार्मिक पर्यटकहरूलाई जनकपुरधामतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ । गंगासागरको ऐतिहासिकता र महत्त्व उजागर गर्दै यस्तो कार्यक्रमले स्थानीय पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

वार्षिकोत्सव समारोहमा स्थानीय युवा, समाजसेवी, महिला समूह, विद्यार्थी, जनप्रतिनिधि तथा विभिन्न धार्मिक संस्थाहरूको पनि सक्रिय सहभागिता रहेको थियो । दीप प्रज्वलनदेखि आरतीसम्मको क्रम जनसहभागितामूलक रूपमा सञ्चालन गरिएको थियो ।

गंगासागरको किनारमा गरिएको महागंगा आरतीको ११औँ वार्षिकोत्सवले जनकपुरधामको सांस्कृतिक चेतना, धार्मिक आस्था र समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । आयोजक संस्था र सहभागिहरूले आगामी वर्षहरूमा अझ व्यवस्थित र समावेशी ढंगले कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।


तस्बिरहरू : दिपक गुप्ता