जनकपुरधाम, २१ जेठ । मधेश प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बुधबार संसदीय छानबिन समिति गठनको मागमा अडान राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले अवरुद्ध गरेपछि स्थगित भएको छ ।

सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको बैठकमा जसपा सांसदहरूले विरोध जनाएपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको हो ।

बैठकमा जसपाका प्रमुख सचेतक रामअशिष यादवले चौथो अधिवेशनको २२औं बैठकमा सभामुखले संसदीय छानबिन समिति गठन गर्ने घोषणा गरेको भन्दै त्यसको कार्यान्वयन नहुनुलाई गैरजिम्मेवार र सदनप्रति अपमानजनक भने । उनले सर्वदलीय सहमतिअनुसार विपक्षी दलले प्रतिनिधिका नामसमेत दिएको अवस्थामा सत्तापक्षले नाम नदिएर प्रक्रिया नै अड्काएको आरोप लगाए ।

उनले भने, ‘सरकारद्वारा हुने गडबडी, अनियमितता र आर्थिक अनुशासनको उल्लंघनमाथि छानबिन गर्नु प्रदेशसभाको दायित्व हो । सत्तापक्षको ढिलासुस्तीबाट सरकार उत्तरदायी नरहेको प्रष्ट हुन्छ ।’

बैठकको प्रारम्भमै सभामुख मण्डलले विवाद समाधान गर्न औपचारिक–अनौपचारिक छलफल अघि बढाए पनि सहमति जुट्न सकेन । छलफल निष्कर्षमा पुग्न नसकेपछि बैठक स्थगनको घोषणा गरिएको हो ।

जसपाले संसदीय छानबिन समिति गठन नभएसम्म प्रदेशसभा सुचारु हुन नदिने अडान राखेको छ । प्रमुख सचेतक यादवका अनुसार भ्रष्टाचार र अपारदर्शितामा संलग्न व्यक्तिको बचाउ गर्न सरकार समितिबाट भागिरहेको छ ।

प्रदेशसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेका बेला उत्पन्न अवरोधले मधेश सरकारको कार्यतालिका प्रभावित भएको छ । यदि विवाद चाँडै समाधान भएन भने बजेट निर्माण र कार्यक्रम कार्यान्वयनमा समेत ढिलाइ हुने देखिएको छ ।