अदालतले दोषी ठहर गरेपछि जसपा नेता महतो फरार, छोरा पवन पक्राउ

जनकपुरधाम, २१ जेठ । धनुषाको रमण कन्स्ट्रक्सनका सञ्चालक तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता बलराम महतो ठगी अभियोग पुष्टि भएपछि फरार भएका छन् ।
कानूनी जटिलतालाई सामना गर्न नसकेपछि बलराम महतो सम्पर्कविहीन छन् भने उनका छोरा पवन महतो काठमाडौँबाट पक्राउ परेका छन् । अर्का छोरा रमन महतो अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बलराम महतोमाथि जनकपुरधाम उपमहानगरपालिका–४ निवासी विष्णुदेव यादवका छोरा सन्तोषकुमार यादवले २५ करोड रुपैयाँ बराबरको व्यवसायिक कारोबार सम्बन्धी बैंकिङ्ग कसुरमा उजुरी दिएका थिए । यादवका अनुसार व्यवसायिक लेनदेनका क्रममा महतोले आफूले जम्मा ८ करोड मात्र तिर्नुपर्ने दाबी राख्दै बाँकी रकम नतिरेका कारण मुद्दा दायर गरिएको हो ।
पुनरावेदन अदालत धनुषाले २०८१ साल चैत २१ गतेमा बलराम महतोलाई दोषी ठहर गरेका थिए । फैसलापछि महतो सम्पर्कविहीन बनेको र मोबाइलसमेत बन्द रहेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीका अनुसार पवन महतो काठमाडौंको विभिन्न स्थानमा लुकेको अवस्थामा थिए । काठमाडौंस्थित अनुसन्धान टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएर धनुषा पठाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख उपरीक्षक नरहरी रेग्मीले भने, ‘पवनलाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेका छौँ । हालसम्म ठगीमा पवनको संलग्नता बारे प्रत्यक्ष प्रमाण भने फेला परेका छैनन् । तर तहसम्म छानबिन भइरहेको छ ।’
धनुषा प्रहरीले गत चैत २९ गते बलराम र रमन महतोविरुद्ध औपचारिक रूपमा पक्राउ पूर्जी जारी गरेको थियो । पूर्जीको आधारमा जिल्लामा विशेष खोजी अभियान सञ्चालन गरिएको र विशेष प्रहरी टोली परिचालन भएको छ । रमन महतो हालसम्म फरार रहेको र खोजी जारी रहेको प्रहरीले बताएको छ ।
बलराम महतोले संचालन गर्दै आएको ‘रमण कन्स्ट्रक्सन’ नामक निर्माण कम्पनीले धनुषा जिल्लाका विभिन्न निर्माण कार्यहरू संचालन गर्दै आएको थियो । प्रहरीका अनुसार महतो र यादवबीच विगतमा सम्झौताका आधारमा सञ्चालनमा आएको भू–उपयोग तथा व्यवसायिक कामकारबाहक सम्झौतामा विवाद देखिएको थियो ।
वार्ताबाट विवाद समाधान नभएपछि यादवले बैंकिङ्ग अपराध सम्बन्धी उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता भएदेखि अनुसन्धान अघि बढेको र सो क्रममा बलराम महतोका छोरा रमन र पवनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको थियो ।
महतो धनुषाको साविक रघुनाथपुर गाविस–४ (हाल सवैला नगरपालिका–१) का स्थायी बासिन्दा हुन् । अहिले जनकपुरधाम उपमहानगरपालिका–१३ मा बसोबास गर्दै आएका छन् ।
बलराम महतो जनता समाजवादी पार्टीका एक प्रभावशाली नेता र आर्थिक विभाग प्रमुखसमेत हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


