जनकपुरधाम, २१ जेठ । सिरहा–धनुषा सीमास्थित कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै ‘नयाँ कमला पुल निर्माण संघर्ष समिति’ले बुधबार जनमत पार्टी मधेश प्रदेश संसदीय दलको ध्यानाकर्षण गराएको छ ।

संघर्ष समितिका संयोजक प्रविन मोरबैताले प्रदेश सभा परिसरमा जनमत पार्टी संसदीय दलको कार्यालयमा नेता महेश प्रसाद यादवलाई भेट्दै आगामी आर्थिक वर्षको बजेटमा नयाँ पुलका लागि आवश्यक रकम छुट्याउन आग्रह गरे ।

संघीय सरकारले सार्वजनिक गरेको बजेटमा पुल निर्माणका लागि कुनै व्यवस्था नरहेको भन्दै समितिले गम्भीर असन्तुष्टि जनाएको छ । संयोजक मोरबैताले भने, ‘यो पुल सिरहा र धनुषाका हजारौँ नागरिकको दैनिकीसँग जोडिएको संरचना हो । तर, बजेटमा उपेक्षा हुनु दुःखद छ ।’

संघर्ष समितिका अनुसार प्रदेश सरकारले गत वर्ष साउनमा भएको चार बुँदे सहमतिअनुसार डीपीआर तयार गरिसकेको छ । तर, बजेट विनियोजन नहुँदा काम अघि बढ्न सकेको छैन ।

चालू आर्थिक वर्ष २०८२/८३ कै बजेटमा पुल निर्माणका लागि रकम व्यवस्था गर्नुपर्ने माग समितिको छ ।

नेता यादवले पुल निर्माण आवश्यक र न्यायोचित रहेको बताउँदै यो विषयमा दलभित्र छलफल गरेर सरकारलाई सिफारिस गरिने आश्वासन दिए ।

कमला पुल निकै पुरानो, साँघुरो र जीर्ण अवस्थामा रहेको हुँदा स्थानीयले दैनिक आवागमन र आपतकालीन सेवामा समस्या भोग्दै आएका छन् ।

संघर्ष समितिले प्रदेश सरकारमाथि दबाब बढाउन राजनीतिक दलहरूसँग नियमित भेटघाट जारी राख्ने बताएको छ ।