जनकपुरधाम, २१ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले समाजमा गहिरो रूपमा जरा गाडेर बसेका जातीय भेदभाव र छुवाछुतजस्ता अमानवीय प्रथाको अन्त्य आजको आवश्यकता भएको बताएका छन् ।

भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता सामाजिक कुप्रथाले सामाजिक न्याय र समावेशी विकासलाई गम्भीर असर पारेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री सिंहले समाजमा समानता, समावेशिता र मानव अधिकारको सम्मान कायम राख्न राज्यका हरेक संयन्त्र, राजनीतिक दल र नागरिक समाज एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘सदियौँदेखि थिचोमिचोमा पारिएका समुदायहरूलाई सम्मान र समान अवसर दिलाउन अब लड्नुपर्ने बेला आएको छ ।’

उनका अनुसार प्रदेश सरकारले छुवाछुत र जातीय विभेदको अन्त्यका लागि नीति, कार्यक्रम र सचेतनामूलक अभियानलाई प्राथमिकता दिएको छ । उनले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको रक्षा र प्रवद्र्धनमा राज्यको भूमिका अझ जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा पनि व्यक्त गरे ।

यस वर्ष विभिन्न संघसंस्थाहरूले छुवाछुतविरुद्ध विविध चेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै दिवस मनाइरहेका छन् ।