जनकपुरधाम, २१ जेठ । रौतहटको कटहरिया नगरपालिका–१, भसेरवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मंगलबार साँझ मृत अवस्थामा भेटिएकी युवती विजयपुर नगरपालिका–९ बडहरवाकी २२ वर्षीया आल्का यादव रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार आल्काको शरीरमा चोटपटकको गम्भीर असर देखिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार श्रीमान् अंकेश यादव र परिवारका सदस्यहरूले मिलेर कुटपिटपछि धारिलो काठ प्रयोग गरी हत्या गरिएको आशंका गरिएको छ । माइती पक्षले समेत हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

घटनापछि श्रीमान अंकेश यादव फरार छन् भने ससुरा पुकार राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई विनोद राना मगरले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ । प्रहरीले घटनाको गहिरो अनुसन्धान जारी राखेको बताउँदै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । माइती पक्ष र अधिकारकर्मीहरूले भने दोषीलाई जोगाउन दबाब सिर्जना हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।