महिलाको आर्थिक सशक्तिकरणबिना विकास सम्भव छैन : मुख्यमन्त्री सिंह

जनकपुरधाम, २१ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाहरूको आर्थिक सशक्तिकरण र पछाडि पारिएका समुदायको समावेशी सहभागिताबिना दिगो विकास सम्भव नरहेको भन्दै लैंगिकमैत्री तथा समावेशी उद्यम विकासमा सरकार गम्भीर रहेको बताएका छन् ।
बुधवार मुख्यमन्त्री सिंहसँग नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रतिनिधिमण्डलले भेट गरी ‘लैंगिकमैत्री तथा समावेशी उद्यम र व्यवसाय विकास’ सम्बन्धी स्थितिपत्र बुझाएको थियो । सो अवसरमा मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाउनेतर्फ सरकार क्रियाशील रहेको र नीतिगत, संरचनागत तथा वित्तीय पहुँचका पक्षमा आवश्यक कदम चालिने प्रतिवद्धता जनाए ।
‘महिलाको आर्थिक सशक्तिकरण बिना समावेशी विकास सम्भव हुँदैन,’ मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश सरकारले महिलासहित सबै पछाडि पारिएका समुदायलाई उद्यममा सहभागी गराउने वातावरण बनाउनेछ ।’
महासंघका प्रदेश अध्यक्ष अशोककुमार टेमानीको नेतृत्वमा गएको टोलीले नीति सुधार, लगानीमैत्री वातावरण तथा सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न आग्रह गर्दै नीति निर्माण र कार्यान्वयनमा सरकारको गम्भीर सहभागिता अपेक्षा गरिएको जनाएको थियो ।
महासंघले प्रस्तुत गरेको स्थितिपत्रमा महिला उद्यमशीलताको प्रवद्र्धनका लागि आवश्यक नीति, कार्यक्रम र सहयोग संरचनाहरूको स्पष्ट खाका प्रस्तुत गरिएको थियो ।
मुख्यमन्त्री सिंहले स्थितिपत्रमा समेटिएका सुझावहरूलाई प्राथमिकताका साथ अध्ययन गरी आगामी नीति तथा कार्यक्रम निर्माणमा समावेश गर्ने आश्वासन दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


