जनकपुरमा नविल बैंकको सेवामा चरम अस्तव्यस्तता

जनकपुरधाम, १८ जेठ । निजी क्षेत्रको एक सशक्त र प्रतिष्ठित वित्तीय संस्थाका रूपमा आफूलाई दाबी गर्ने नविल बैंक जनकपुर शाखामा सेवाग्राहीहरू चरम सास्ती भोगिरहेका छन् । ‘प्रिमियम सेवा’ को दाबी गर्ने बैंकमा सामान्य चेक साट्न समेत घण्टौं कुर्नुपर्ने अवस्था आइपरेको छ ।
आइतबार बिहान करिव साढे १० बजे सेवाग्राहीहरूको भीडले शाखा भरिएको थियो । तर, त्यति भिडलाई व्यवस्थापन गर्ने बैंक प्रशासनको तयारी अत्यन्त कमजोर देखियो । एक मात्र क्यास काउन्टर घण्टौंसम्म सञ्चालनमा रहेपछि ग्राहकहरू बीच निराशा, आक्रोश र गुनासोहरू चुलिएको देखियो ।
बैंकले कुपन (टोकन) सिस्टम लागू गरे पनि त्यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । प्रत्येक सेवाग्राहीको काम सम्पन्न हुन १५–२० मिनेटभन्दा बढी समय लाग्ने गरेको पाइयो । कतिपय सेवाग्राही टोकन लिइसकेपछि पनि कुन पालो कहिले आउँछ भन्ने अन्योलमा बैंक परिसरमै यताउता हिँडिरहने देखिन्थे ।
बैंकको सेवा ढिलो हुनुको अर्को कारण कर्मचारीको असावधानीपूर्ण व्यवहार रहेको देखियो । काउन्टरका कर्मचारी बारम्बार काम छाडेर बाहिर हिँडिरहने, एकअर्काबीच कुराकानीमै अल्मलिने वा मोबाइलमा व्यस्त हुने दृश्य खुलेआम देखियो । यस्तो लापरवाहीपूर्ण व्यवहारले बैंकको व्यवसायिकतालाई नै प्रश्नमा ल्याएको छ ।
धनुषा साविक लक्ष्मीनिया–२ का ६५ वर्षीय रामशंकर ठाकुर भन्छन्, ‘बिहान साढे १० बजे आएको तीन घण्टा भयो, अझै पालो आएको छैन । हामी ग्राहक हो कि बैंकसँग दया माग्न आएका हौं?’ उनले बैंकको नाम ठूलो भए पनि सेवा ‘सरकारी कार्यालयभन्दा पनि फितलो’ रहेको आरोप लगाए ।
उनले भने, ‘हामीले प्राइभेट बैंक सहज र छिटो सेवा पाउनका लागि रोज्छौं । तर, यहाँ त सरकारी बैंकभन्दा पनि बढ्ता कुर्नुपर्छ, कर्मचारीहरूको व्यवहार पनि उत्तरदायी छैन ।’
त्यस्तै, एक महिला सेवाग्राही मञ्जु कुमारी भन्छिन्, ‘हामीले सिटमा बसेर कुर्ने त ठिकै हो । तर, घण्टौंसम्म पालो नआउने, काउन्टरमा कर्मचारी मोबाइलमा व्यस्त हुने हो भने हामी किन बैंक आउने?’
यस सम्बन्धमा बुझ्दा अपरेशन इन्चार्ज प्रदिप ठाकुरले यो अवस्था ‘सामान्य ट्राफिक समस्या’ भएको प्रतिक्रिया दिए । उनले भने, ‘आज केही कारणले कर्मचारीले बीचबीचमा अन्य काम गर्नुपरेको भएकोले ढिलाइ भएको देखियो । हामी सुधारका लागि काम गरिरहेका छौं ।’
तर, सेवाग्राहीहरू भने यो बारम्बार दोहोरिने समस्याको परिणाम भएको भन्दै बैंकले ‘गम्भीररूपमा लिएको प्रमाण दिनुपर्ने’ माग गरेका छन् ।
एक सेवाग्राहीले भने, ‘सेवा गुणस्तरमा प्रतिस्पर्धी मानिने नविल बैंकमा समेत यस्तो अवस्था देखिनु निजी बैंकप्रतिको भरोसामा आघात लागेको छ । ‘सार्वजनिक बैंकमा यस्तो भए, ठीकै हो । तर, निजी बैंकको नाममा पनि यस्तो रबैया देखियो भने कहाँ जानु?’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


