जनकपुर–जयनगर रेलमार्गमा १२ दिनसम्म भारतीय रेल सञ्चालन हुने

जनकपुरधाम, १८ जेठ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन हुँदै आएको नेपाली रेल मर्मतका लागि भारतको लखनउ पठाइएपछि आगामी १२ दिनसम्म भारतीय रेल सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार यात्रु सेवामा अवरोध नआओस् भनेर उक्त अवधिमा भारतीय रेलमार्फत सेवा निरन्तर राखिनेछ ।
नेपालको पहिलो अन्तरदेशीय रेलमार्गका रूपमा रहेको जनकपुर–जयनगर रेल सेवा नियमित रूपमा दुईवटा नेपाली रेल सेटमार्फत सञ्चालन हुँदै आएको थियो । तर, तीमध्ये एक रेल सेट नियमित मर्मत तथा प्रविधिक परीक्षणका लागि भारतको लखनउस्थित रेल कारखानामा पठाइएको हो ।
नेपाल रेल्वे कम्पनीले जनकपुर–जयनगर खण्डमा दैनिक सञ्चालन भइरहेका रेलहरूलाई नियमित तालिकानुसार नै चारवटै फेरा (ट्रिप) सञ्चालन गरिने बताएको छ । महाप्रबन्धक झा भन्छन्, ‘रेल मर्मतका कारण सेवा नरोकियोस् भन्ने उद्देश्यले भारतीय रेल सञ्चालनको व्यवस्था गरिएको हो । यात्रुलाई कुनै असुविधा नहोस् भन्ने हाम्रो मुख्य ध्यान छ ।’
भारतीय रेलको सहयोगमा सञ्चालन हुने यो सेवा अन्तर्गत यात्रुहरूले पूर्ववत् भाडादर र समय तालिकाअनुसार नै सेवा लिन सक्नेछन् ।
नेपालमा सञ्चालनमा रहेका दुईवटा डेमु ट्रेनमध्ये एकको मर्मत नियमित अन्तरालमा गर्नुपर्ने प्राविधिक आवश्यकता हो । नेपालमा रेल मर्मतको सुविधा सीमित भएकाले भारतीय रेल कम्पनीसँगको सहकार्यमा लखनउ पठाइएको हो । यसअघि पनि यस्तै प्रक्रियाबाट मर्मतको काम हुँदै आएको थियो । रेल्वे स्रोतका अनुसार मर्मतपश्चात नेपाली रेल फर्किने र फेरि दुवै रेल सेटबाट सेवा सञ्चालन हुने बताइएको छ ।
रेल सेवा सञ्चालनमा आएको तीन वर्ष पुग्न लागेको अवस्थामा जनकपुर–जयनगर रेलमार्ग मधेसका स्थानीय बासिन्दा तथा भारतीय यात्रुहरूका लागि सुलभ, सस्तो र समयमै पुग्ने माध्यमका रूपमा लोकप्रिय बन्दै गएको छ । विशेष गरी गरीब, विद्यार्थी र सीमापारका आवत–जावत गर्नेहरूका लागि यो रेल सेवाले सहजता ल्याएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


