जनकपुरधाम, १८ जेठ । मधेश प्रदेशको आमसञ्चार क्षेत्रको नियमन र विकासका लागि जिम्मेवार रहेको आमसञ्चार प्राधिकरणमा रिक्त रहेका सदस्य पदहरूमा प्रदेश सरकारले नियुक्ति गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार दुई जना नयाँ सदस्यको नियुक्ति गरी प्राधिकरणको नेतृत्व टोलीलाई पूर्णता दिएको हो ।

गृहसचिव विमल प्रसाद बरालले नवनियुक्त सदस्यद्वय ज्योति झा र नविन गुप्तालाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । झा र गुप्ताको नियुक्तिसँगै प्राधिकरण अब पूर्ण नेतृत्व संरचनामा प्रवेश गरेको छ ।

यसअघि प्रदेश सरकारले प्राधिकरणको अध्यक्षमा जितेन्द्र खड्गालाई नियुक्त गरिसकेको थियो । अध्यक्ष खड्गाको नियुक्तिपछि प्राधिकरणले आफ्नो कार्ययोजना तयार गर्न थालेको भए पनि पूर्ण संरचना नहुँदा नीति निर्माण र कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो ।

अब नयाँ सदस्यहरूको आगमनसँगै प्राधिकरणको गति तेज हुने अध्यक्ष खड्गाले बताए । प्राधिकरणको मुख्य काम सञ्चार माध्यमहरूको दर्ता, नियमन, अनुगमन तथा स्थानीयस्तरमा सञ्चारमाध्यमहरूको क्षमता अभिवृद्धिमा केन्द्रीत छ ।

नवनियुक्त सदस्यहरू ज्योति झा नेपाल पत्रकार महसंघ मधेश प्रदेशकी उपाध्यक्ष र नविन गुप्ता नेपाल पत्रकार महासंघ सप्तरीक कोषाध्यक्ष हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम अन्तर्गत सञ्चार क्षेत्रलाई व्यवस्थित, समावेशी र उत्तरदायी बनाउने उद्देश्यका साथ प्राधिकरणको गठन गरिएको हो । स्थानीय रेडियो, टेलिभिजन, अनलाइन तथा प्रिन्ट सञ्चार माध्यमहरूको गुणस्तर सुधार, पत्रकारहरूको सुरक्षाको प्रत्याभूति, प्रेस स्वतन्त्रताको संरक्षण तथा सञ्चार नीतिको विकासमा प्राधिकरणको भूमिका महत्वपूर्ण मानिन्छ ।

नयाँ नेतृत्वले पहिलो चरणमा प्रदेशभरका सञ्चार माध्यमहरूको विस्तृत तथ्यांक संकलन, मापदण्ड निर्माण र पत्रकार आचारसंहिताको पुनरावलोकनजस्ता काम अघि बढाउने तयारी गरिरहेको जनाइएको छ ।