कमला पुल बनाउने जिम्मा अब हामी लिन्छौं : मुख्यमन्त्री सिंह

जनकपुरधाम, १६ जेठ । संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कमला नदीको नयाँ पुल समावेश नभएपछि मधेश प्रदेश सरकारले निर्माणको जिम्मा लिने घोषणा गरेको छ ।
शुक्रबार मुख्यमन्त्री सतिश कुमार सिंहसँग नयाँ कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रबिन मोरबैता र सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले भेट गरी पुलको आवश्यकताबारे ध्यानाकर्षण गराएका हुन् ।
भेटमा उनीहरूले संघीय सरकारले नजरअन्दाज गरेकाले अब प्रदेश सरकारले नै अग्रसरता लिनुपर्ने माग गरेका थिए । जवाफमा मुख्यमन्त्री सिंहले संघीय बजेटको ‘रातो किताब’ अध्ययनपछि प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए ।
‘संघीय बजेटमा यो योजना परेको देखिँदैन भने हामी आफैँले प्रदेशबाट बजेट छुट्याएर निर्माणको जिम्मा लिन्छौं,’ मुख्यमन्त्री सिंहले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, यो पुल बनाउने जिम्मा अब प्रदेश सरकारले लिन्छ ।’
कमला नदीमा पक्की पुलको माग स्थानीयवासीहरूले दशकौँदेखि गर्दै आएका छन् । तर, अझै पनि अस्थायी काठे पुलमा भर पर्नुपर्ने अवस्था छ । यसका कारण वर्षायाममा यातायात र जनजीवनमा गम्भीर असर पार्ने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


