जनकपुरधाम, १६ जेठ । धनुषामा अवैध रूपमा सालको काठ ओसारपसारमा संलग्न तीन जना तस्करलाई डिभिजन वन कार्यालय धनुषाको टोलीले पिकअप गाडीसहित पक्राउ गरेको छ । सुराकीको आधारमा धनुषाधाम–जनकपुर सडकखण्डको ठेरा चोक नजिक गरिएको छापामारीमा उनीहरू पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार पक्राउ परेकामध्ये धनुषाधाम नगरपालिका–१ काशिपुरका प्रमोद ठाकुर, गगन यादव र धनुषाधाम–२ का रुपेश राय छन् । उनीहरूलाई ज १ च ९५३ नम्बरको पिकअप गाडीमा लुकाएर राखिएको २०.७७ क्युबिक फिटका २० थान साल प्रजातिको काठसहित नियन्त्रणमा लिइएको हो ।

साथै, घटनास्थलबाट प्रदेश २–०२–००४ प ०२८५ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त मोटरसाइकललाई सुरक्षा निगरानी वा सञ्चार सम्पर्कको लागि प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

बरामद काठ तथा सवारी साधनसहित तीनै जनालाई डिभिजन वन कार्यालयमा राखिएको छ । उनीहरूविरुद्ध हाल वन ऐन २०७९ अनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

डिभिजन वन कार्यालयले काठ तस्करीमा संलग्न व्यक्तिहरूलाई कडाइका साथ निगरानी गर्दै आएको जनाएको छ । अधिकारीहरूका अनुसार वनसम्पदाको संरक्षणमा सार्वजनिक सहयोग अपरिहार्य रहेको भन्दै तस्करी गतिविधिबारे सूचना दिन सबैलाई आग्रह गरिएको छ ।