पूजाले भनिन्, ‘मधेशबाट अझ धेरै “पूजा” जन्मिनुपर्छ’

रौतहट, १६ जेठ । राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान तथा १९ वर्षमुनिको महिला टोलीकी कप्तान पूजा महतोले मधेशमा खेलकुदबाट परिवर्तन सम्भव रहेको बताउँदै आफू जस्तै अनेक पूजा महतोहरू जन्मिनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
गणतन्त्र दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै महतोले भनिन्, ‘म यही ठाउँबाट अनेक पूजा महतोहरू जन्मिनुहोस् भन्ने चाहन्छु । एउटी पूजा कहिले पनि पर्याप्त हुँदैन ।’
चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको नाढीतालको सभामा अध्यक्ष राजकुमार महतोले पूजा महतोलाई ५५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गर्दै उनको उपलब्धिलाई सम्पूर्ण गाउँपालिकाको गौरव भएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले सम्मान समारोहको विस्तृत विवरण प्रस्तुत गर्दै पूजाको योगदानले स्थानीय स्तरमा युवा खेलाडीहरूको मनोबल उच्च भएको धारणा राखे ।
गणतन्त्र दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाले लोकतन्त्रका लागि सर्वोच्च बलिदान दिएका दुई शहीद विद्यासागर महतो र शिवकुमार रामका परिवारलाई पनि जनही २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गर्यो ।
त्यस्तै, विभिन्न राजनीतिक आन्दोलनमा जेल जीवन बिताएका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई पनि नगद २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजकुमार महतोले गणतन्त्रको जग लोकतन्त्रमा आधारित रहेकाले यसको सुदृढीकरणमा सबै नागरिकको समान दायित्व रहेको बताए । उनले गणतन्त्रलाई पुस्तादरपुस्ता हस्तान्तरण गर्न शिक्षा, सचेतना र सम्मानको संस्कृतिमा बल दिनुपर्ने आवश्यकता औंल्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


