एमालेको योजनाः मधेशका ६० हजार कार्यकर्ता प्रशिक्षणमा, तीन तहको स्कूल सञ्चालन हुने

महोत्तरी, १६ जेठ । नेकपा एमालेले मधेश प्रदेशमा पार्टी संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यसहित ६० हजारभन्दा बढी सदस्यलाई वैचारिक र सांगठनिक प्रशिक्षण दिने घोषणा गरेको छ ।
बर्दिवासमा आयोजित दुई दिने ‘प्रदेश स्कूल सञ्चालन सम्बन्धी कार्यशाला’ मार्फत यस्तो योजना सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका एमाले उपमहासचिव तथा केन्द्रीय स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले लोकतन्त्रको रक्षाका लागि पार्टी सदस्यहरूको वैचारिक दृढता अपरिहार्य भएको बताए । उनले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउँदै सरकारका उपलब्धिहरू जनतामाझ पुर्याउनुपर्नेमा जोड दिए।
कार्यशालामा ‘उच्च तह, माध्यमिक तह र आधारभूत तह’ गरी तीन तहमा स्कूल सञ्चालन गरिने एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए । यस योजनाअनुसार पहिलो चरणमा आधारभूत तहको प्रशिक्षण सुरु गरिएको हो ।
पार्टीले प्रशिक्षणमा माक्र्सवादी दर्शन, समाजवादी अर्थतन्त्र, समाजवादको आधार, राज्यको स्वरूप र कम्युनिष्ट पार्टीको भूमिकालगायत विषय समेट्ने योजना बनाएको छ । यसबाट मधेशमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र जनसम्पर्क क्षमता वृद्धि हुने विश्वास एमालेले लिएको छ ।
कार्यशालामा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ठोकुवा गरे । उनले भने, ‘लोकतन्त्र आएपछि देश समृद्धिको दिशामा अघि बढेको छ । राजा ल्याउँछु भन्ने कुरा त दिउँसै देखिएको सपना हो ।’
उनले वर्तमान सरकारका राम्रा कामहरू जनतामाझ प्रभावकारी रूपमा प्रवाह गर्न नसकिएको स्वीकार गर्दै पार्टी कार्यकर्ताको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रशिक्षण आवश्यक रहेको बताए ।
कार्यक्रममा एमाले मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, केन्द्रीय स्कूल विभागका सचिव घनश्याम कोइराला, सदस्य रामशरण प्याकुरेल र शंकर महतो लगायतका नेताहरूले प्रशिक्षणको महत्व र कार्यान्वयन रणनीतिबारे धारणा राखे ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता, सचिव मनोज पौडेलको सहजीकरण र उपाध्यक्ष विचारी यादवको स्वागत मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश इन्चार्ज, पदाधिकारी, स्कूल विभाग सदस्य, जिल्ला इन्चार्ज, जनसंगठनका प्रदेश अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


