मधेशमा १४ सय महिला कृषि स्वयंसेविका भर्ना प्रक्रिया सुरु

जनकपुरधाम, १६ जेठ । मधेश प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका ग्रामीण भेगमा कृषि सेवाको पहुँच विस्तार तथा महिलालाई समावेशी रुपमा सशक्त बनाउने उद्देश्यले ‘महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । यस कार्यक्रममार्फत प्रदेशभर १४ सय जना महिला स्वयंसेविका नियुक्त गरिनेछ । त्यसका लागि हालै दरखास्त आह्वान गरिएको छ ।
मधेशका गाउँघरमा महिलाहरू दशकौंदेखि खेतबारीमा खटिए पनि तिनको भूमिका प्रायः औपचारिक मानिँदै आएको थिएन । यस परियोजनाले त्यो खाडल पूर्ति गर्दै महिलालाई कृषि सेवामा अग्रसर बनाउने मार्ग खोल्ने विश्वास गरिएको छ ।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार प्रदेशका सबै जिल्लाका स्थानीय तहहरूमा कृषि जनचेतना, तालिम, सल्लाह र सेवा विस्तार गर्न महिला स्वयंसेविकाहरू परिचालित गरिनेछ । यसले गाउँस्तरसम्म प्रविधिमैत्री कृषि प्रणाली विस्तार गर्न मद्दत पुर्याउनेछ ।
कार्यक्रममा सहभागी हुन चाहने महिलाको उमेर कम्तीमा १८ वर्ष र बढीमा ४० वर्ष हुनुपर्नेछ । एसईई वा सो सरह परीक्षा उत्तीर्ण गरेका, नेपाली नागरिक, सम्बन्धित पालिकाको स्थायी बासिन्दा र कुनै सार्वजनिक लाभको पदमा कार्यरत नभएका महिलाले दरखास्त दिन सक्नेछन् ।
प्राथमिकताका आधारहरूमा कृषि, पशुपालन वा मत्स्यपालनसम्बन्धी तालिम प्राप्त र अनुभव भएका महिलाहरूलाई विशेष प्राथमिकता दिइनेछ ।
छनौटमा परेकी महिला स्वयंसेविकाहरूलाई कार्यविधिअनुसार सेवा सुविधा प्रदान गरिनेछ । तिनले स्थानीय कृषक समूहसँग समन्वय गर्दै कृषि सूचना प्रवाह, तालिम सञ्चालन, प्रविधि सल्लाह र महिला कृषकहरूलाई संगठित गर्दै व्यावसायिक कृषि अभ्यासतर्फ उन्मुख गराउने जिम्मेवारी वहन गर्नेछन् ।
मन्त्रालयका अनुसार, ‘महिला कृषि स्वयंसेविका परिचालन कार्यक्रम’ मधेशको कृषि प्रणालीलाई लैंगिक रूपले समावेशी बनाउँदै आधुनिक कृषि ज्ञान गाउँगाउँ पुर्याउने सशक्त माध्यम बन्नेछ । विशेष गरी ग्रामीण महिलाहरूको क्षमता अभिवृद्धि, स्वरोजगारको अवसर सृजना र पारिवारिक आर्थिक सशक्तीकरणमा समेत यो अभियानले टेवा पुर्याउने विश्वास छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


