जनकपुरधाममा ११ करोडको लागतमा अत्याधुनिक विद्युतिय शवदाहगृह निर्माण हुने

जनकपुरधाम, १६ जेठ । मधेश प्रदेश सरकारद्वारा जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरी डिलस्थित स्वर्गद्वार क्षेत्रमा ११ करोड रुपैयाँको लागतमा अत्याधुनिक विद्युतिय शवदाहगृह निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ ।
प्रदेश सरकारको ‘गौरवको योजना’ को रूपमा अघि बढाइएको यस परियोजनाले धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
शुक्रबार उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयद्वारा आयोजना गरिएको सरोकारवालासँगको छलफलपछि यसै आर्थिक वर्ष (२०८१÷८२) देखि निर्माण कार्य सुरु गरिने सहमति बनेको हो । मन्त्रालयले टेन्डर प्रक्रिया यही साता अगाडि बढाउने तयारी गरेको छ । योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

११ करोड रुपैयाँको बजेटमा निर्माण हुने शवदाहगृहमा अढाई तल्ले शवदाह भवन, दुईवटा शवदाह ट्रली बेड, धुवाँ निस्कासका लागि ब्रिन्चुरी स्क्रबर, वेट स्क्रबर, चिम्नी तथा अस्थि व्यवस्थापनका लागि विशेष संरचना निर्माण गरिनेछ । विद्युतिय शवदाह प्रणालीले परम्परागत काठदाहको सट्टामा वातावरणमैत्री, छरितो र कम खर्चिलो अन्त्येष्टि सेवा उपलब्ध गराउनेछ ।
मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले परियोजनालाई सामाजिक–धार्मिक संवेदनशीलता र वातावरणीय आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको बताए । ‘शवदाहगृहले जनकपुरधामका नागरिकलाई सम्मानजनक सेवा दिन्छ, साथै आर्थिक बोझ र वातावरण प्रदूषण घटाउनेतर्फ पनि ठुलो टेवा पुग्नेछ,’ मन्त्री यादवले भने ।

निर्माण सम्पन्नपछिको सञ्चालन व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिकामार्फत कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई जिम्मा दिइने तयारी गरिएको छ । उपमहानगरका मेयर मनोज कुमार साहका अनुसार स्वर्गद्वार समितिको नेतृत्वमा स्थायी सञ्चालन कोष खडा गरिनेछ । कोषबाट दीर्घकालीन सञ्चालन सुनिश्चित हुनेछ ।
जनकपुरधामलगायत मधेश क्षेत्रमा परम्परागत काठदाह संस्कारका कारण काठको अत्यधिक खपत, वायू प्रदूषण तथा खर्चिलो प्रक्रिया जस्ता समस्या विद्यमान छन् । विद्युतिय शवदाहगृहले यिनै समस्याहरूको दीर्घकालीन समाधान दिने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


