जनकपुरधाम, १५ जेठ । धनुषाधाम उद्योग वाणिज्य संघको आसन्न अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि गठित आयोजक समितिको संयोजकमा मुकेश कुमार ठाकुर चयन भएका छन् । समितिमा देवशरण कापर, दिनेश शर्मा लगायत अन्य सदस्यहरूलाई समेत जिम्मेवारी दिइएको छ ।

संयोजक पदमा नियुक्त भएपछि ठाकुरले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘धनुषाधाम उद्योग वाणिज्य संघको अधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका निम्ति मलाई संयोजकको जिम्मेवारी प्रदान गरेकोमा म सम्पूर्ण पदाधिकारी, सदस्य एवम् शुभेच्छुकप्रति आभार प्रकट गर्दछु ।’

ठाकुरले आफूले पाएको जिम्मेवारीलाई इमानदारी, निष्ठा र पूर्ण समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशनलाई सफल, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सक्दो प्रयास गर्ने जनाए ।

उनले अधिवेशन एकता, समन्वय र व्यवसायिक समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने अवसरका रूपमा रहेको उल्लेख गरे ।

अधिवेशनको मिति, कार्ययोजना र कार्यक्रमहरूबारे थप विवरण आगामी दिनमा सार्वजनिक गरिने तयारी समितिले जनाएको छ ।