जनकपुरधाम, १५ जेठ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर बिहीबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गरेको छ ।

प्रतिष्ठानले नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिकलगायत विविध विधा–उपविधागत कला समावेश हुने गरी १५ दिने ललितकला प्रदर्शनीको शुरुवात गरेको हो ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर प्रदर्शनी आयोजना गरेको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस प्रदर्शनीसँगै तेस्रो वर्षमा अनुसन्धानलाई जोड दिँदै कलाकारको सर्वेक्षण र ‘प्रोफाइल’ तयार गर्ने र विविध कला अभियानलाई अघि बढाउने रणनीतिक योजना अघि सारिएको बताए । यसवर्ष प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिएको उनले जानकारी दिए ।

उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाका अनुसार कोशी प्रदेशबाट ८२ कलाकारका ८२, मधेश प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति प्रदर्शनीमा रहेका छन् । प्रदेशगत छुट्टाछुट्टै ‘ग्यालरी’ रहेको जनाइएको छ ।

प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति समावेश छन् । विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाका २०८, परम्परागत चित्रकलाका ७२ कलाका ७३, समसामयिक र आधुनिक मूर्तिकलाका ५१ कलाका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९, प्रतिस्थापन कलाका नौ कलाकारका नौ, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका एक कलाकारको एक, भावभङ्गी कलाका दुई कलाकारका दुई कलाकृति प्रदर्शनीमा रहेका छन् ।

यसवर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही एक लाख ५० हजार र सम्मान पत्र रहेको छ ।

राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मान पत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०/३० हजार र सम्मान पत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासंघ र प्रतिमा पाण्डेलाई प्रदान गरिएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला) लाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि एक लाख र सम्मान पत्र रहेको छ ।

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोशीबाट भावना गुरुङ, मधेशबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोशीबाट ङावाङ छिरि शेर्पा, मधेशबाट सोनाम सिंह भ्लोन, बागमतीबाट रीना शाक्य, गण्डकीबाट दलबहादुर गुरुङ, लुम्बिनीबाट लिलाधर केसी, कर्णालीबाट कुमारी सिता मल्ल, सुदूरपश्चिमबाट रमेश कडायत लाई प्रदान गरिएको छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मान पत्र रहेको छ ।

अघिल्लो वर्षबाट सुरु गरिएको ‘शहीद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘शहीद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८१’ गंगाधर सारुलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी ५०/५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीको प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।