जनकपुरधाम, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल धनुषाले युवामाझ लोकतान्त्रिक चेतना विस्तार गर्न ‘गणतन्त्र र युवा’ विषयमा केन्द्रित विशेष छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम पत्रकार महासंघ धनुषाको सभाहलमा अन्तरक्रियात्मक वातावरणमा सम्पन्न भयो । कार्यक्रममा पत्रकार र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल धनुषाका सह–सचिव दिवाकर रायले गरेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अवधेश कामत प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले गणतन्त्रको स्थापनाबाट आजसम्मको यात्रा, यसको संवैधानिक मूल्य र समावेशी लोकतन्त्रमा युवाको भूमिकाबारे आफ्नो धारणा राखे ।

उनले भने, ‘गणतन्त्र केवल शासन प्रणालीको नाम होइन, यो युवाको सपना, समानताको सार र स्वतन्त्रताको अभ्यास हो । पत्रकारिता, शिक्षा र राजनीतिको हरेक क्षेत्रमा युवाले नेतृत्व लिनुपर्ने बेला यही हो ।’

कार्यक्रममा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य ज्योति झा, प्रेस चौतारी नेपाल धनुषाका पूर्वअध्यक्ष जगदीश साह, मधेश प्रदेशका पूर्वसचिव भगलु मण्डल, वडा सदस्य मुन्नी दासलगायतकाहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए । उनीहरूले युवाहरूले सूचना, शिक्षा र संलग्नताको माध्यमबाट लोकतन्त्र र गणतन्त्रको मूल्यमान्यताको रक्षा गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य ज्योति झाले भनिन्, ‘गणतन्त्रको रक्षार्थ युवाले कलम समाउनु आवश्यक छ । कलम सधैं परिवर्तनको औजार बनेको छ ।’

कार्यक्रम विशेषगरी विद्यार्थी र युवा केन्द्रित छलफलमा आधारित थियो । विभिन्न शैक्षिक संस्थाबाट आएका विद्यार्थीहरूले गणतन्त्रको अवधारणा, लोकतान्त्रिक अभ्यासमा पत्रकारिताको भूमिकासँगै वर्तमान राजनीतिक परिस्थिति र युवाको दायित्वबारे जिज्ञासा राखे ।

छलफलका क्रममा युवाहरूले स्वच्छ राजनीति, प्रेस स्वतन्त्रता, अल्पसंख्यक आवाजको प्रतिनिधित्व र लोकतान्त्रिक शिक्षा प्रणालीको सुधारमा आफ्नो अभिव्यक्त राखे ।