पाँच दलको ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा

जनकपुरधाम, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा मधेशको राजनीतिक परिदृश्यमा एक उल्लेखनीय मोड आएको छ । दलित, मुस्लिम, गरिब, विपन्न र पिछडिएको वर्गका हकअधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ पाँच साना दलहरूले संयुक्तरूपमा ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् ।
जनकपुरधाममा आयोजित सभामार्फत गठबन्धनको औपचारिक घोषणा गर्दै उनीहरूले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गरेर राजनीतिक अभिव्यक्तिको नयाँ यात्राको आरम्भ गरेका हुन् ।
गठबन्धनमा नेपाल सद्भावना पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल जनजागृति पार्टी, बहुजन एकता पार्टी नेपाल र ऐतिहासिक जनता पार्टी रहेका छन् ।
यी दलहरूले निर्वाचनमा साझा एजेन्डा लिएर अघि बढ्ने र उपेक्षित वर्गको आवाज संसदसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
गठबन्धनका अगुवा तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले विगतमा दलित, मुस्लिम र पिछडिएको समुदायलाई केवल ‘मतको बैंक’ बनाएर प्रयोग गरिएको आरोप लगाए । उनले भने, ‘नीति बनाउने तहमा पुग्न सक्ने अधिकारबाट हामीलाई वञ्चित गरिएको छ । अब मतको मूल्य देखाउने र त्यसलाई संगठनात्मक रूपमा प्रस्तुत गर्ने समय आएको छ ।’
नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले केही स्थापित मधेशवादी दलहरूले मधेशको नाममा राजनीति गरेर सत्तामा पुगेपछि मधेशलाई नै छाडेको आरोप लगाए । उनले भने, ‘नाम मात्रको मधेशवादी दलहरू आज राष्ट्रिय दल बन्ने होडमा छन् । यसले मधेश झन् कमजोर बनाएको छ । हाम्रो गठबन्धन मधेश र अल्पसंख्यकको आत्मसम्मान र पहिचानका लागि वैकल्पिक शक्ति बन्नेछ ।’
नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल प्रसाद सहनी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकर र ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रिनारायण ठाकुरले गरीब, दलित, मुस्लिम र पिछडिएको समुदायका मतदातालाई चेतनशील बन्न आह्वान गरे ।
घोषणा सभामा बोल्दै गठबन्धनमा आवद्ध नेताहरूले गणतन्त्र र संघीयताले नै पछाडि पारिएका वर्गलाई आफ्नो हकका लागि आवाज उठाउने अवसर दिएको बताए । उनीहरूले यी प्रणालीलाई थप सुदृढ र जनमुखी बनाउन लाग्ने बताए ।
घोषणा सभामा मधेश प्रदेशका आठै जिल्लाबाट दलित, मुस्लिम, महिला, युवा तथा पिछडिएको समुदायका व्यक्तिहरूको उपस्थिति देखिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


