गणतन्त्रको जगमा सञ्चारकर्मीको भूमिका अतुलनीय : गृहमन्त्री लेखी

जनकपुरधाम, १५ जेठ । मधेश प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान दिने प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान गर्नुका साथै गणतन्त्रको अपरिहार्यता र स्थायित्वप्रति एकजुट सन्देश दिएको छ ।
कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रीहरूले गणतन्त्रले देशमा समान अवसर, समावेशिता र सत्ता हस्तान्तरणको ऐतिहासिक वातावरण तयार पारेको उल्लेख गर्दै त्यसको विकल्प पुनः गणतन्त्र नै रहेको स्पष्ट पारे ।
गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान गर्न पाएकोमा हर्ष व्यक्त गर्दै यो सम्मान प्रक्रिया अब निरन्तर चल्ने बताए । ‘संघीयता र समावेशिताको एजेण्डालाई सबैभन्दा बढी उजागर गर्ने सञ्चारकर्मीहरू आज सम्मानित भएका छन्,’ मन्त्री लेखीले भने, ‘यो अभियानलाई हामी निरन्तरता दिन्छौं ।’
शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले गणतन्त्रले मात्रै विभिन्न वर्ग, समुदाय र भूगोलका नागरिकहरूलाई मुलुकको सर्वोच्च पदमा पुग्ने अवसर दिलाएको बताइन् । ‘आज राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदहरूमा पहुँच सम्भव भएको छ भने त्यो गणतन्त्रकै देन हो,’ उनले भनिन् ।
श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले गणतन्त्रको विकल्प फेरि गणतन्त्र नै भएको स्पष्ट पारे । ‘गणतन्त्रलाई असफल बनाउन खोज्नेहरूलाई जनताले कहिल्यै स्वीकार गर्दैनन्,’ उनले भने ।
त्यस्तै, वन तथा वातावरणमन्त्री संजय कुमार यादवले गणतन्त्रको विकल्पमा अर्को आधुनिक वा नौलो गणतन्त्र त सम्भव हुन सक्छ तर राजतन्त्र अब फर्कन नसक्ने बताए । ‘जनताले बिर्सिसकेको राजतन्त्रको स्थान अब इतिहासमा मात्र रहनेछ,’ मन्त्री यादवले भने ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, सम्मानित पत्रकार प्रकाश खतिवडा, मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो तथा मन्त्रालयका सचिव विमन प्रसाद बरालले पनि गणतन्त्र र प्रेस स्वतन्त्रताको महत्त्वमाथि धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


