जनकपुरधाम, १५ जेठ । गणतन्त्र स्थापना र लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान दिएका मधेश प्रदेशका १२ जना प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकारहरूलाई मधेश प्रदेश सरकारले सम्मान गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको ‘शुभकामना तथा अभिनन्दन कार्यक्रम’मा उनीहरूलाई दोसल्ला ओढाएर, सम्मानपत्र प्रदान गरी नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संयुक्त रुपमा प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान गरेका थिए ।

सम्मानित हुने पत्रकारहरूमा सप्तरीका वैद्यनाथ झा, प्रकाश खतिवडा, देवनारायण यादव, धनुषाका अशोक रौनियार, रामभरत साह, महोत्तरीका कुमरकान्त झा, गोपाल बराल, ईश्वरी प्रसाद काफ्ले, गयाँ यादव, शत्रुधन नेपाल र शैलेन्द्र गुप्ता रहेका छन् ।

सम्मान कार्यक्रम पहिलोपटक प्रदेश सरकारले आयोजना गरेको हो । यसले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता स्थापित गर्न संघर्ष गरेका पत्रकारहरूको योगदानलाई औपचारिक मान्यता दिएको छ ।

मुख्यमन्त्री सिंहले कार्यक्रममा बोल्दै भने, ‘लोकतन्त्रको जग कसले राख्यो भन्ने विषयमा गहिरो आत्ममूल्याङ्कन जरुरी छ । आज हामी गणतन्त्रको उत्सव मनाइरहेका छौं भने त्यसको पृष्ठभूमिमा कलम चलाएर, सत्य बोल्न डराएका पत्रकारहरूको बलिदान र योगदान पनि छ ।’

यस्तै, मन्त्री लेखीले पत्रकारहरूलाई लोकतान्त्रिक आन्दोलनका अग्रपंक्तिका सिपाहीको रूपमा चिनाउँदै भने, ‘प्रेस स्वतन्त्रता कुनै सुविधाभोगीको कुरा होइन, यो अधिकारको लडाइँ हो । र, यहाँ सम्मानित हुनु भएका अग्रजहरूले त्यस लडाइँमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको छ ।’