जनकपुरधाम, १४ जेठ । जैविक विविधता, आध्यात्मिक आस्थाको केन्द्र र वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको पिपल वृक्षलाई मधेश प्रदेशको राजकीय वृक्ष घोषणा गर्नुपर्ने आवाज उठेको छ ।

मधेश प्रदेशसभा सदस्य तथा जसपा नेपालका नेता रामअशिष यादवले पिपलको धार्मिक, वैज्ञानिक, सांस्कृतिक र वातावरणीय महत्वलाई औंल्याउँदै यसलाई ‘देव वृक्ष’ को मान्यता दिँदै प्रदेशको राजकीय वृक्षको रुपमा घोषणा गर्न प्रस्ताव अघि सारेका हुन् ।

जनकपुरधाममा आयोजित ‘प्रादेशिक वृक्ष घोषणा सिफारिस अन्तरक्रिया गोष्ठी’ मा बोल्दै सांसद यादवले चुरे क्षेत्रको संरक्षणमा राज्य गम्भीर नभएको आरोप समेत लगाए । उनले भने, ‘चुरे जोगाउनका लागि कुनै ठोस योजना छैन । तर, विनाश गर्नका लागि भने राज्य अग्रसर देखिन्छ ।’ उनका अनुसार चुरे क्षेत्रमा अव्यवस्थित बसोबास व्यवस्थापन नगरी विभिन्न पूर्वाधार निर्माण र लालपुर्जाको वितरण गरी संवेदनशील प्राकृतिक क्षेत्रलाई खतरामा पारिएको छ ।

गोष्ठीको आयोजना प्रदेश वन निर्देशनालय मधेश प्रदेशले गरेको थियो । कार्यक्रममा नवनियुक्त वन तथा वातावरण मन्त्री संजय कुमार यादव प्रमुख अतिथि थिए भने निर्देशनालयका निर्देशक जगरनाथ जयसवालले अध्यक्षता गरेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले पिपल वृक्षको महत्वलाई ऐतिहासिक र वैज्ञानिक आधारमा पुष्टि गर्दै यस वृक्षको राजकीय मान्यता प्राप्त गराउनु जरुरी रहेको धारणा राखे । प्राकृतिक स्रोत तथा वातावरण समितिकी सभापति शारदा दास पहाडी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल, वरिष्ठ वन विज्ञ डा. गणेश राय र वन प्राविधिक समाजका संस्थापक अध्यक्ष रामस्वार्थ साह लगायतले पिपल वृक्ष जलवायु परिवर्तनको असर घटाउने, जैविक विविधता जोगाउने र पर्यावरण सन्तुलन कायम राख्ने अद्वितीय क्षमताको स्मरण गराउँदै संरक्षणको आवश्यकता औंल्याए ।

कार्यक्रमको संयोजन र सञ्चालन वातावरण अभियन्ता सुरेश शर्माले गरेका थिए । उनले पिपल वृक्षको धार्मिक महत्वसँगै यसको कार्बन शोषण क्षमता, औषधीय गुण र छायाँदारी प्रकृतिलाई जनजीवनसँग गाँसिएको वृक्षको रुपमा प्रस्तुत गरे ।