मधेशमा गणतन्त्र दिवस विशेष : मन्त्रीसहित दर्जनौंले गरे रक्तदान

जनकपुरधाम, १४ जेठ । गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बुधबार साँझ रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको नेतृत्व प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्य रहेको थियो । गृहमन्त्री राजकुमार लेखी र स्वास्थ्य मन्त्री शत्रुघन प्रसाद सिंहले रक्तदान गरे ।
गृहमन्त्री लेखीले भने, ‘रक्तदान केवल सामाजिक कार्य मात्र नभई यो जीवन रक्षाको अत्यावश्यक माध्यम हो । प्रदेश सरकारले यस्तो कार्यक्रमलाई हरेक वर्ष नियमित बनाउने प्रयास गर्छ ।’
त्यस्तै, स्वास्थ्य मन्त्री सिंहले रक्तदानलाई नियमित जीवनशैलीको हिस्सा बनाउनेबारे जोड दिँदै समाजमा यस्तो सकारात्मक अभियानलाई संस्थागत गर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव विमल प्रसाद वराल, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधि, चिकित्सक, नर्स तथा विभिन्न तहका कर्मचारीहरू समेत रक्तदानमा सहभागी भए ।
मधेश प्रदेश सरकारले गणतन्त्र दिवसलाई तीन दिवसीय उत्सवको रूपमा मनाउने निर्णय गरेको छ । पहिलो दिन मधेश भवन परिसरमा सरसफाइ र रक्तदान कार्यक्रम गरिएको हो ।
देस्रो दिनको लागि सरकारले प्रदेशभरका प्रेस स्वतन्त्रता सेनानीहरूलाई नगदसहित कदरपत्र प्रदान गर्ने कार्यक्रम तय गरेको छ भने अन्तिम दिन शुक्रबार जानकी मन्दिर परिसरमा सरसफाइ र मानव सेवा आश्रमका लक्ष्मीनारायणहरूलाई भोजन खुवाउने कार्यक्रम आयोजना गरिने छ ।
रक्तदान कार्यक्रम मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल जनकपुरधामको समन्वयमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


