मधेश प्रदेश सभाको पाँचौं अधिवेशन जेठ २१ बाट

जनकपुरधाम, १४ जेठ । मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आउँदो जेठ २१ गते बुधबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता शत्रुधन यादवका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा १० बमोजिम अधिवेशन आह्वान गरिएको हो । यो अधिवेशन विशेषगरी आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ ।
सत्तारूढ गठबन्धन सरकारले आर्थिक विकास, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापनजस्ता प्राथमिक क्षेत्रलाई लक्षित गरी नीति तथा कार्यक्रम र बजेटको प्रारूप अन्तिम चरणमा पुर्याएको छ ।
सरकारको तयारीलाई विपक्षी दलहरूले पनि गम्भीर रुपमा लिएका छन् । उनीहरूले अधिवेशनलाई प्रदेश सरकारको विगतको कार्यसम्पादनमाथि समीक्षा गर्ने प्लेटफर्मको रूपमा प्रयोग गर्ने तयारी गरिरहेका छन् । विशेषगरी बजेट कार्यान्वयनको अवस्था, खर्च दक्षता र सेवा प्रवाहमा देखिएको कमजोरीमाथि विपक्षीहरूको चासो केन्द्रित हुने अनुमान छ ।
सरकार स्रोत भेला, खर्चको पारदर्शिता र परिणाममुखी कार्यक्रमप्रति केन्द्रित हुने संकेत देखिएको छ । मधेश प्रदेशमा बाढी, डुबान र जलवायुजन्य जोखिमहरू बढ्दो क्रममा रहेका कारण यो बजेटमा विपद् पूर्वतयारी, राहत प्रणाली सुदृढीकरण तथा विपन्न वर्ग लक्षित सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


