सिरहाका नगरप्रमुखमाथि कानुनी कारबाहीको माग

जनकपुरधाम, १४ जेठ । सिरहा नगरपालिकाका नगरप्रमुख नवीनकुमार यादवद्वारा पत्रकारहरूप्रति सार्वजनिक रूपमा दिइएको धम्कीपूर्ण अभिव्यक्तिपछि स्थानीय सञ्चारकर्मी र नेपाल पत्रकार महासंघ आक्रोशित भएका छन् ।
उनको अभिव्यक्तिको विरोधमा महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत औपचारिक ध्यानाकर्षण पत्र बुझाउँदै नगरप्रमुखविरुद्ध कानुनी कारबाहीको माग गरेको छ ।
पत्रकार महासंघ सिरहा शाखाका अनुसार नगरप्रमुख यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा भिडियो सन्देश जारी गर्दै आफ्नो आलोचना वा अनुगमनमा आधारित समाचार लेख्ने पत्रकारहरूलाई ‘भयानक परिणाम भोग्नुपर्ने’ चेतावनी दिएका थिए । उनले पत्रकारलाई आर्थिक दण्ड जरिवाना भुक्तानी गराउनेसमेत भाषा प्रयोग गरेका छन् । महासंघले यसलाई प्रेस स्वतन्त्रतामाथिको खुला हमला ठहर गरेको छ ।
महासंघका सचिव मुकेश कुमार यादवद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नगरप्रमुखको यस्तो अभिव्यक्ति प्रेस तथा प्रकाशन ऐन २०४८, मुलुकी फौजदारी संहिता २०७४ र नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन हो ।’
महासंघले प्रमुख यादवको व्यवहारलाई व्यक्तिगत क्रोधभन्दा पनि संस्थागत प्रेसविरुद्धको दमनको संकेतका रूपमा व्याख्या गर्दै यस्तो भाषा लोकतान्त्रिक मान्यता, प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारमाथि हमला भएको बताएको छ ।
‘जसले पनि निर्वाचित पदमा बसेको जनप्रतिनिधिले सार्वजनिक रूपमा पत्रकारहरूलाई धम्की दिने गर्छ, त्यो न केवल अनैतिक हो, बरु संवैधानिक मर्यादाको अपमान हो,’ पत्रकार महासंघले भनेको छ । महासंघले प्रमुख जिल्ला अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्दै भनेको छ, ‘कानूनमाथिको सम्मान कायम राख्न र स्वतन्त्र पत्रकारिताको रक्षा गर्न प्रशासनले तुरुन्त कदम चाल्नुपर्छ ।’
महासंघले आगामी दिनमा यस्ता अभिव्यक्तिहरू पुनः दोहोरिए सम्पूर्ण पत्रकार समुदायलाई संघर्षमा उत्रन बाध्य बनाउने चेतावनीसमेत दिएको छ । यस्ता घटना रोक्न प्रशासनको निष्क्रियता वा ढिलासुस्तीले लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाउने ठहर महासंघको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


