१५७ किलो गाँजासहित सर्लाहीका दुई जना महोत्तरीमा पक्राउ

जनकपुरधाम, १४ जेठ । लागूऔषध नियन्त्रण अभियानअन्तर्गत महोत्तरी प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गर्दै दुई जना तस्करलाई पक्राउ गरेको छ । स्कारपियो गाडीभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा १५७.९ किलोग्राम गाँजासहित सर्लाहीका दुई युवालाई बर्दिबासबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीको हरिवन नगरपालिका–५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र हरिवन नगरपालिका–३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियार छन् । उनीहरू बा ११ च ३४९४ नम्बरको सेतो रंगको स्कारपियोमा गाँजा ओसारपसार गर्दै थिए ।
प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले जनाएअनुसार बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिकै नियमित सवारी चेकजाँचका क्रममा प्रहरी टोलीले उक्त स्कारपियो रोकेको थियो । गाडीको सूक्ष्म तलासी गर्दा भित्र विशेष रूपमा प्लास्टिकमा बेरेर राखिएको ३० पोका गाँजा फेला परेको हो ।
बरामद गरिएको गाँजाको कुल तौल १५७.९ किलोग्राम रहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार गाँजा पूर्वी पहाडी क्षेत्रबाट लोड गरिएको र पश्चिमतर्फ आपूर्ति गर्ने तयारीमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।
‘पक्राउ परेकाहरूलाई लागूऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ,’ डिएसपी भट्टले भने, ‘गाँजा कहाँबाट ल्याइयो, कसको संलग्नता छ र कहाँ पठाउने योजना थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीले गाडी, गाँजा र पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर अनुसन्धानलाई तीव्रता दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


