जनकपुरधाम, १४ जेठ । गणतन्त्र दिवस २०८२ को पूर्वसन्ध्यामा मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

मन्त्रालय परिसरमा भएको सो सरसफाइ कार्यक्रमले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्याउने रचनात्मक पहलको संकेत दिएको हो ।

गणतन्त्र दिवसको सन्देशलाई जनस्तरमा सशक्त रुपमा पुर्याउन गरिएको सरसफाइ कार्यक्रममा गृहमन्त्री लेखी स्वयंको नेतृत्व रहेको थियो । सो कार्यक्रममा मन्त्रालयका कर्मचारीहरू, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा साथै प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रिय सहभागिता देखिएको थियो ।

गृह मन्त्रालयले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूको औपचारिक रुपमा अभिनन्दन गर्ने कार्यक्रम समेत आयोजना गरेको छ । पत्रकारितामार्फत निरङ्कुश शासनविरुद्ध आवाज उठाउने तथा लोकतन्त्रको जग मजबुत बनाउन योगदान दिने सञ्चारकर्मीहरूको सम्मानमा समर्पित कार्यक्रम ऐतिहासिक रुपमा महत्वपूर्ण हुने बताइएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यले उनीहरूको योगदानलाई औपचारिक रुपमा सम्मान गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, ‘निरङ्कुश राज्य प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले हामीले गणतन्त्र दिवसको अवसर पारेर प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूको सम्मान गर्ने निर्णय गरेका हौँ ।’

सरसफाइ कार्यक्रममा सहभागीहरूले गणतन्त्र दिवसले सबै नागरिकमा समानता, स्वतन्त्रता र उत्तरदायित्वको भावना जागृत गराउने विश्वास व्यक्त गरे । गृहमन्त्री लेखीले गणतन्त्रको मूल्य, पत्रकारिताको भूमिकासँग जोडेर जनतामाझ सशक्त सन्देश प्रवाह गर्ने योजना अनुसार मन्त्रालयले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।