जनकपुरधाम, १३ जेठ । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले पत्रकारविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिले जिल्ला मात्रै नभई सम्पूर्ण मधेशमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता गम्भीर संकटमा परेको देखिएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमार्फत मेयर यादवले पालिकाविरुद्ध समाचार लेख्ने पत्रकारलाई ‘भयानक परिणाम भोग्नुपर्ने’ चेतावनी दिएपछि पत्रकार संगठन र नागरिक समाज आक्रोशित बनेका छन् ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयले सिरहा नगरपालिकामा छापा मारेर राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षणलगायतका कागजात नियन्त्रणमा लिएपछि स्थानीय सञ्चारमाध्यमहरूले यस विषयमा समाचार प्रकाशन गरेका थिए । यिनै समाचारप्रति आक्रोशित बनेका मेयर यादवले मंगलबार सार्वजनिक भिडियोमा प्रेस स्वतन्त्रताको मर्यादा नाघ्ने गरी पत्रकारमाथि आक्रमक शैलीमा चेतावनी दिएका हुन् ।

उनले भिडियोमा भनेका छन्, ‘मेरो पालिकाविरुद्ध समाचार लेख्नेले सोच्नु पर्यो, मलाई होइन, पत्रकारलाई भारी पर्छ । यस्तो समाचारको परिणाम भयानक हुन्छ ।’ उनले पत्रकारलाई कानुनी कारबाही र जरिवानाको चेतावनी दिँदै लेख्नुअघि ‘दुईचोटि सोच’ भनी धम्क्याउने प्रयास गरेका छन् ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले मेयर यादवको अभिव्यक्तिलाई गैरजिम्मेवार, संविधानविपरीत र लोकतान्त्रिक प्रणालीप्रति असहिष्णुताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । उनले भने, ‘संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको प्रत्यक्ष अपमान र धम्कीपूर्ण शैलीले मेयरको चरित्र उजागर भएको छ । यस्ता अभिव्यक्तिले न जनप्रतिनिधिको गरिमा रहन्छ, न संस्थाको ।’

महासंघले घटनालाई गम्भीरतापूर्वक लिँदै केन्द्रसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताएको छ । अध्यक्ष बनैताले मेयर यादवलाई अभिव्यक्ति फिर्ता लिन र पत्रकार समुदायसँग औपचारिक माफी माग्न आग्रहसमेत गरेका छन् ।

सरोकारवालाहरूले यस्तो प्रवृत्तिमाथि समयमै रोक नलगाइएमा निरंकुशता मौलाउने र लोकतन्त्र कमजोर हुने चेतावनी दिएका छन् ।