जनकपुरधाम, १३ जेठ । क्रान्तिकारी पत्रकारिता र वाकस्वतन्त्रताको बलिदानीका प्रतीक शहीद कृष्ण सेन इच्छुकको २३औँ स्मृति दिवसका अवसरमा जनकपुरधाम र वीरगंजमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।

प्रेस सेन्टर नेपाल मधेश प्रदेश अन्तर्गत धनुषा शाखाले जनकपुरधाममा आयोजना गरेको स्मृति कार्यक्रममा पत्रकारिता, विचार, परिवर्तन र प्रतिबद्धताको विषयमा गहन छलफल गरिएको थियो । कार्यक्रमको नेतृत्व गरेका प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष दीपक मिश्रले शहीद इच्छुकले जनताको मुक्तिका लागि कलम चलाएको स्मरण गर्दै भने, ‘उहाँले सत्य लेखेर सत्तासँग लड्ने हिम्मत देखाउनुभयो, त्यो साहस आज पनि प्रेरणाको स्रोत हो ।’

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ ले भने, ‘इच्छुकको बलिदान स्मृतिमा सीमित हुनु हुँदैन, त्यो चेतना व्यवहारमा देखिनुपर्छ । हामीले पत्रकारितालाई शुद्ध, निर्भीक र उत्तरदायी बनाउनै पर्छ ।’

अन्य सहभागीहरू अनिल मिश्र, नित्यानन्द मण्डल, किरण कर्ण, विनोद महतो, विजय झालगायतले शहीद इच्छुकको विचार, शालीन व्यवहार र राजनीतिक चेतनालाई आधुनिक पत्रकारिताको आधार स्तम्भको रूपमा व्याख्या गरे ।

त्यस्तै, पर्सा शाखाले वीरगंजको ऐतिहासिक स्थल घण्टाघरमा दीप प्रज्वलन गर्दै स्मृति कार्यक्रम सम्पन्न गर्यो । जिल्ला अध्यक्ष शिवनाथ यादव, प्रदेश संयोजक निरज पिठाकोटी, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पत्रकार रामबाबु साह, सरोज चौधरी, शम्भु तिवारी, लक्ष्मण रायलगायत सहभागी थिए ।

कार्यक्रममा वक्ताहरूले जनतासँग प्रतिबद्ध, सत्यसँग साहसी र सत्ता आलोचक पत्रकारिताको आवश्यकता अहिले झनै महत्त्वपूर्ण रहेको बताए । ‘इच्छुकको कलम बन्द भयो । तर, उहाँको विचार अझै बोलिरहेको छ,’ प्रदेश संयोजक पिठाकोटीले भने ।

शहीद कृष्ण सेन इच्छुकलाई २०५८ साल जेठ १३ गते राज्यद्वारा गिरफ्तार गरी हिरासतमा हत्या गरिएको थियो । उनको हत्या वाक् स्वतन्त्रता र प्रेस स्वतन्त्रताको घोर उल्लंघन मानिन्छ । उनले सम्पादन गरेका पत्रिका ‘जनादेश’ जनपक्षीय आवाजको स्वरूप बनेको थियो ।

प्रेस सेन्टर नेपालले हरेक वर्ष स्मृति दिवसको अवसरमा देशभर विविध कार्यक्रम गर्दै आएको छ ।