जनकपुरधाम, १३ जेठ । नेपाल प्रेस युनियन महोत्तरीले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत विरामीहरूलाई फलफुल वितरण गरी सप्ताहव्यापी कार्यक्रमको थालनी गरेको छ ।

संस्थागत जिम्मेवारीभन्दा बाहिर निस्किएर समुदायसँग भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित गरिएको यो पहलले पत्रकारिता र मानव सेवाबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको छ ।

कार्यक्रमको नेतृत्व गरेका नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष कुमार सिंहका अनुसार स्थापना दिवस यस वर्ष विशेष कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइनेछ । उनले भने, ‘पत्रकारिता केवल सूचनाको संकलन र सम्प्रेषणमा सीमित छैन, समाजको पीडा महसुस गरेर नागरिकसँग आत्मीयता बाँड्नु पनि हाम्रो जिम्मेवारी हो ।’

उनका अनुसार पहिलो दिन प्रादेशिक अस्पताल जलेश्वरमा फलफुल वितरण गरेर समाजसेवाको उदाहरण प्रस्तुत गरिएको हो । ‘यो केवल शुरुवात हो,’ उनले थपे, ‘आगामी दिनहरूमा प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा, सामाजिक न्याय र सूचनाको पहुँचका सवालमा विभिन्न कार्यक्रम हुनेछन् ।’

फलफुल वितरण कार्यक्रममा महोत्तरीका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्र उप्रेती, पत्रकार कमलेश मण्डललगायतको उपस्थिति थियो । उनीहरूले अस्पतालमा भर्ना भएका विरामीहरूसँग संवाद गर्दै फलफुल प्रदान गरेका थिए ।

वरिष्ठ पत्रकार उप्रेतीले भने, ‘यस्ता कार्यक्रमहरूले पत्रकारहरूलाई नागरिक सरोकारमा अझ सक्रिय र उत्तरदायी बनाउँछ ।’

प्रेस युनियन महोत्तरीले स्थापना दिवसलाई विविध सामाजिक र पेशागत क्रियाकलापमार्फत अर्थपूर्ण बनाउने तयारी गरेको छ । कार्यक्रम अन्तर्गत रक्तदान, विद्यालयस्तरीय सञ्चार गोष्ठी, पत्रकार सुरक्षा सम्बन्धी अभिमुखीकरण तथा वर्कशप, स्थानीय तहसँग संवादलगायत गतिविधिहरू हुनेछन् ।

कार्यक्रमका सहभागीहरूले पत्रकारिताको उद्देश्य केवल खबर बनाउनु नभई समाजसँग गहिरो सम्बन्ध निर्माण गर्नु रहेको बताए । ‘पत्रकार समाजको ऐना मात्र होइन, मार्गदर्शक पनि हो,’ पत्रकार कमलेश मण्डलले भने, ‘रोगसँग लडिरहेका नागरिकहरूसँग सहानुभूति बाँड्नु सन्देशमूलक र मानवीय कार्य हो ।’