जनकपुरधाम, १३ जेठ । जनकपुरधाम–८ स्थित अग्निकुण्ड पोखरीमा मंगलबार बिहान फेला परेको एक युवकको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– ८ मा बस्दै आएका करिव ३५ वर्षीय पुरुषोत्तम झा हुन् ।

प्रहरी प्रवक्ता डीएसपी वरुण बहादुर सिंहका अनुसार मृतक झा सोमबार रातिदेखि सम्पर्कविहीन भएका थिए । परिवारजनले खोजतलास गर्दा कुनै जानकारी नभएपछि मंगलबार बिहान अग्निकुण्ड पोखरीमा शव फेला परेको खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । शवको प्रारम्भिक परीक्षणपछि पहिचान खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थल धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अति महत्वपूर्ण मानिने अग्निकुण्ड क्षेत्रमा भएको हुँदा स्थानीय बासिन्दामाझ त्रास र आशंका फैलिएको छ । ‘यस स्थानमा यस प्रकारको घटना हुनु चिन्ताको विषय हो,’ एक स्थानीयले भने, ‘यस्तो संवेदनशील ठाउँमा सुरक्षा सतर्कता बढाइनु आवश्यक छ ।’

प्रहरीले शवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टमका लागि पठाएको छ । प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मान्दै अनुसन्धान थालिएको डीएसपी सिंहले जानकारी दिए ।