जनकपुरधाम, १३ जेठ । जनकपुरधामस्थित कलर्स एफएम १०२.४ मेगाहर्जमा कार्यरत उदयिमान सञ्चारकर्मी सालु झाको आइतबार साँझ मस्तिष्कघातका कारण असामयिक निधन भएको छ ।

धनुषा जिल्लाको नगराइन नगरपालिका–७, देवडिहा निवासी सञ्चारकर्मी झा केही समयदेखि स्वास्थ्यमा समस्या देखिए पनि सक्रियताका साथ कलर्स एफएममा कार्यक्रम प्रस्तोता र संवाददाताका रूपमा कार्यरत थिइन् । परिवारजनका अनुसार आइतबार साँझ अचानक मस्तिष्कघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

कलर्स एफएमसँगको एक वर्षको कार्यकालमै उनले श्रोतामाझ लोकप्रियता कमाएकी थिइन् । उनको आवाज, प्रस्तुती र समाचारमा देखिने संवेदनशीलता प्रशंसनीय मानिन्थ्यो । सञ्चारकर्मी झाको असामयिक निधनले मधेशको पत्रकारिता विशेषतः महिला पत्रकारिता क्षेत्रमा ठूलो क्षति भएको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले झाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली वक्तव्य सार्वजनिक गरेको छ । महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झाजस्तो उर्जावान, प्रतिबद्ध र संवेदनशील सञ्चारकर्मीको असामयिक निधनले महासंघ स्तब्ध र दुःखी छ । उनको योगदान सधैं स्मरणीय रहनेछ ।’

महासंघले दिवंगत झाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा झाको आत्माको चिरशान्तिको कामनासमेत गरिएको छ ।

सालु झाले छोटो समयमा नै महिला सञ्चारकर्मीका रूपमा प्रेरणा बन्ने संकेत दिएकी थिइन् । उनले सामाजिक मुद्दा, लैङ्गिक समानता र युवाका आवाजलाई मिडियामार्फत् उठाउने प्रयास गरिरहेकी थिइन् । सहकर्मीहरूका अनुसार झा जिम्मेवार, आत्मविश्वासी र सिर्जनशील पत्रकार थिइन् ।