जनकपुरधाम, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार अनुसन्धानको घेरामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनको महोत्तरीस्थित निजी निवासमा छापा मारी विभिन्न योजनासम्बन्धी सरकारी कागजातहरू बरामद गरेको छ ।

महोत्तरी क्षेत्र नं. ४ (ख) बाट दोहोर्याएर प्रदेशसभा सदस्य निर्वाचित भएका कुशवाहा विगतमा मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहिसकेका छन् । उनी प्रदेश सरकारमार्फत आएको बजेटको योजनाहरूलाई अवैधानिक रूपमा बिक्री गरेको आरोपमा अनुसन्धानको दायरामा आएका हुन् ।

अख्तियार स्रोतका अनुसार छापा मार्ने क्रममा सांसदका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिइएको छ । आयोगको टोलीले योजनाको स्वीकृति प्रक्रिया, लागत अनुमान र सम्झौतासम्बन्धी कागजातहरू कुशवाहाको घरबाट फेला पारेको छ । हाल सांसद कुशवाहा भने सम्पर्कविहीन छन् ।

कुशवाहाले प्रदेश सरकारबाट आफूले जिम्मा पाएका विकास योजनाहरू निर्माण व्यवसायी तथा सेवाप्रदायक कम्पनीहरूलाई बिक्री गरी त्यसबापत कमिसन लिएको आशंका गरिएको छ । अख्तियारले योजनाको बजेट स्वीकृति, कार्यान्वयन प्रक्रिया, ठेक्का सम्झौता लगायतका विषयमा गम्भीर अनियमितता देखिएको भन्दै अनुसन्धान अघि बढाएको हो ।

हालै प्रदेश सरकारअन्तर्गतका योजना विभाग, नगरपालिकाहरूमा बजेट दुरुपयोग, फर्जी बिलिङ, योजनाको टुक्रा पार्ने, निर्माण गुणस्तरमा हेरफेर गर्ने लगायतका गम्भीर अनियमितताहरूको उजुरी बढ्न थालेपछि अख्तियारले छापा र अनुसन्धान तीव्र बनाएको हो ।

सांसद सरोज कुशवाहाले सार्वजनिक सेवा र विकास योजनामा पारदर्शिता र जवाफदेहीताका लागि आफू प्रतिबद्ध रहेको अघिपछि भन्दै आएका थिए । तर, अहिले उनीमाथि लागेको भ्रष्टाचारको आरोपले उनको राजनीतिक नैतिकता र पार्टीको छवि दुबैमा प्रश्न उठाएको छ ।