जनकपुरधाम, १२ जेठ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह कानुनी घेरामा तानिएका छन् ।

किर्ते हस्ताक्षर र जालसाजीको आरोपमा जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेसँगै उनी सार्वजनिक जीवनबाट सम्पर्कविहीन भएका छन् ।

साहमाथि पछिल्ला केही महिनादेखि एकपछि अर्को गर्दै गम्भीर आरोपहरू लाग्दै आएका थिए । यसले अब कानुनी मोड लिएको छ ।

परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासमानको नक्कली हस्ताक्षर प्रयोग गरी कर्मचारी हटाउने कागजात अदालतमा पेश गरेको अभियोगमा अदालतले साहविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो । पासमानले यस्तो कागजमा आफूले हस्ताक्षर नगरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार उक्त कागजातलाई विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा हस्ताक्षर किर्ते भएको प्रमाणित भएको हो ।

साह अध्यक्ष बनेदेखि नै विवादमा रहँदै आएका छन् । परिषद्भित्रैका कर्मचारीहरूका अनुसार उनले केही कर्मचारीलाई गैरकानुनी रूपमा निलम्बन, तलब रोकेर राख्ने, कामकाजमा अवरोध गर्ने र कार्यकारी निर्देशकमाथि मनोमानी आदेश थोपर्ने र धम्की दिने जस्ता व्यवहार गर्दै आएका थिए ।

एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘अध्यक्ष साहको रवैयाले कार्यालयमा असहजता बढेको छ । कर्मचारी त्रसित छन् । कार्यसम्पादनमा बाधा पुगिरहेको छ ।’

साहमाथि भारतीय नम्बर प्लेट भएको टाटा सुमोमा नेपाली नम्बरको किर्ते प्लेट प्रयोग गरेको आरोप पनि लागेको छ । उक्त सवारीसाधन जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहे पनि अहिलेसम्म त्यस विषयमा कारबाही नहुनुमा प्रशासनको मौनतामाथि आलोचना सुरु भएको छ ।

त्यस्तै, एक कर्मचारीबाट लिएको १ लाख रुपैयाँ सापटी फिर्ता नगरेको उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष साह केही दिनदेखि मोबाइल फोन बन्द गरि सार्वजनिक कार्यक्रमहरूबाट गायब छन् ।

धनुषा प्रहरीले साहलाई आधिकारिक रूपमा खोजी सूचीमा राखेको छ । प्रहरीले दिएको जानकारी अनुसार किर्ते र जालसाजी प्रकरणको अनुसन्धानको हदम्याद दुई वर्षसम्म हुने व्यवस्था छ । जसअनुसार उनीमाथि थप प्रमाण संकलन र कानुनी कारबाही सम्भावित छ ।