धनुषामा फर्जी राहदानी प्रकरणले प्रशासनमाथि प्रश्न, छानबिनको माग तीव्र

जनकपुरधाम, १२ जेठ । धनुषाको यदुकोहास्थित इलाका प्रशासन कार्यालयबाट फर्जी राहदानी प्रमाणपत्र जारी भएको खुलासाले प्रशासनिक संयन्त्रमै गम्भीर त्रुटि र सम्भावित भ्रष्टाचारको संकेत गरेको छ । हालसम्म तीनदेखि चारवटा प्रमाणपत्र फर्जी भएको पुष्टि भएको छ । यसले देशभरि नै राहदानी प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
इलाका प्रशासन कार्यालयका प्रमुख गणेशचन्द्र मिश्रले घटनाको पुष्टि गर्दै भने, ‘हो, केही राहदानी प्रमाणपत्रहरू फर्जी भेटिएका छन् । तर, अहिले म विस्तृत विवरण दिन सक्दिन ।’ उनले ती प्रमाणपत्र कसको नाममा, कुन मितिमा र कुन अधिकृतको मार्फत जारी गरिए भन्ने विवरण खुलाउन मानेनन् ।
राहदानी प्रमाणपत्र राज्यको एक अत्यन्त संवेदनशील र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त कागजात हो । यस्तो कागजातमा फर्जी कार्य हुनु भनेको केवल प्रशासनिक कमजोरी मात्र नभई राष्ट्रिय सुरक्षामाथि प्रत्यक्ष आघात हो भन्ने सरोकारवालाहरूको ठहर छ ।
स्थानीय नागरिक समाजका अगुवा रमन यादव भन्छन्, ‘फर्जी राहदानी बन्न सक्ने हो भने राज्यप्रतिको जनविश्वास धराशायी हुन्छ । यसको जडसम्म पुगेर दोषीमाथि कडा कारबाही गर्नुपर्छ ।’
फर्जी प्रमाणपत्र प्रकरण सार्वजनिक भइसकेको बेला धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया भने आफूलाई घटनाबारे जानकारी नभएको बताउँछन् । ‘मलाई अहिलेसम्म औपचारिक रूपमा केही जानकारी आएको छैन,’ कडरीयाले भने । सरोकारवालाहरूले यो अनभिज्ञता प्रशासनिक लापरवाही वा ढाकछोपको प्रयास हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।
प्रहरी तथा प्रशासन स्रोतका अनुसार प्रारम्भिक सूचनाबाट कुनै दलाल समूह वा कार्यालयभित्रैका कर्मचारीहरू संलग्न भएको आशंका गरिएको छ । यस्तो गैरकानुनी कार्य समयमै नियन्त्रणमा लिइएन भने यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाल सरकारको छवि धूमिल गर्न सक्ने सरोकारवालाहरूको चेतावनी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


