पत्रकारिता क्षेत्रको सबलीकरणका लागि मधेश सरकारलाई ज्ञापन

जनकपुरधाम, १२ जेठ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले सञ्चार तथा पत्रकारिता क्षेत्रको सबलीकरणका लागि आवश्यक बजेट तथा पूर्वाधार सुनिश्चित गर्न मधेश प्रदेश सरकारलाई औपचारिक ज्ञापनपत्र बुझाएको छ ।
पत्रकार महासंघको टोलीले सोमबार मुख्यमन्त्रीको सरकारी निवास मधेश भवन पुगेर मुख्यमन्त्री सतिशकुमार सिंह, अर्थमन्त्री सुनिलकुमार यादव तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघका अध्यक्ष श्याम प्रसाद बञ्जाराको नेतृत्वमा पुगेको टोलीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सञ्चार क्षेत्रप्रति राज्यको जिम्मेवारी र सहकार्यको अपेक्षाका साथ ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले पत्रकारिता क्षेत्रको भूमिकालाई सम्मान गर्दै प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अगाडि बढाइसकेको जानकारी दिए ।
उनले महासंघले उठाएका विषयहरू कल्याणकारी कोष, दक्षता अभिवृद्धि कार्यक्रम, जिल्ला शाखाहरूको पूर्वाधार विकास र मधेश प्रदेश समिति कार्यालयको भवन निर्माण लगायतका मागहरूलाई उच्च प्राथमिकतामा लिएर आगामी कार्यक्रम तथा बजेटमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले भने, ‘नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि यसै वर्ष पनि बजेट विनियोजन भएको थियो । तर, आवश्यक जग्गा अभावका कारण खर्च गर्न सकिएको छैन । जग्गाको टुङ्गो लागेपछि प्रदेश सरकार बजेटको पूर्ण व्यवस्थापन गर्छ ।’

पत्रकार महासंघ मधेश प्रदेश समितिले स्थायी कार्यालय अभावमा दैनिक प्रशासनिक तथा कार्यक्रम सञ्चालनमा कठिनाइ भोगिरहेको उल्लेख गर्दै जनकपुरधामको गुठी संस्थानसँग जग्गा लिजको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ । भवन निर्माण सुरु गर्न सरकारले आवश्यक बजेट विनियोजन तत्काल गर्नुपर्ने महासंघको माग छ ।
महासंघले प्रदेशका अन्य जिल्लाबाट राजधानी जनकपुरधाम आइपुग्ने पत्रकारहरूका लागि आवासको समस्या, कार्यसम्पादनको असहजता र कार्यालयको भाडा बोझका कारण धेरै कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो भइरहेको जनाउँदै स्थायी संरचना विकासलाई सञ्चारक्षेत्र सबलीकरणको पूर्वाधारिक पक्ष मानेर हेर्न आग्रह गरेको छ ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारसँग सीमित स्रोतसाधन भए पनि संवेदनशील र आवश्यक विषयवस्तुहरूलाई समेटिने गरी बजेट निर्माण अघि बढाइएको बताए । ‘सबै कुरा समेट्न सक्दैनौं । तर, प्राथमिकताका आधारमा सञ्चार क्षेत्रलाई समुचित स्थान दिन्छौं,’ उनले भने ।
पत्रकार महासंघको टोलीमा महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, सचिव हदिश खुद्दारसहितका पदाधिकारीहरू सहभागी थिए । उनीहरूले सरकारसँग सहकार्यमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


