जनकपुरधाम, ११ जेठ । जनकपुरधाममा होलीको दिन निर्ममतापूर्वक हत्या गरिएका १७ वर्षीय अंशु यादवको हत्याका मुख्य आरोपी अझै फरार रहँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले सडकमा उत्रिएर सशक्त विरोध जनाएका छन् । आइतबार बजरंग चोकबाट सुरु भएको विरोध र्‍याली रामानन्द चौक हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो ।

प्रदर्शनमा अंशुकी आमा अर्चना यादव दुई नाबालिका छोरीसहित सहभागी भइन् । आक्रोशित भीडले ‘हत्या गरेको देखिएको छ । तर, न्याय किन छैन?’, ‘अंशुका हत्यारालाई कारबाही गर’, ‘हाम्रो अस्तित्व सुरक्षित छैन’ जस्ता नारा लगाउँदै जनकपुर–ढल्केबर सडक झन्डै एक घण्टा अबरुद्ध गरे । सो क्रममा दर्जनभन्दा बढी सवारी साधनमा तोडफोडसमेत भएको जनाइएको छ ।

गत चैत १७ गते होलीका दिन अंशुको छुरा प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलबाट पक्राउ परेका धर्मेन्द्र महतोमाथि मुद्दा चलाइएको छ । हाल उनी कारागारमा छन् । तर, घटनामा संलग्न अर्का आरोपी ४५ वर्षीय राम दहिना महतोलाई प्रहरीले पक्राउ गरे पनि जिल्ला अदालतले रिहा गरिसकेको छ ।

अंशुकी आमा अर्चनाले घटनामा ७ जना व्यक्ति संलग्न रहेको र प्रहरीमा सबैविरुद्ध जाहेरी दिइएको बताउँदै आएकी छन् । तर, पाँच जना अझै फरार छन् ।

प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीसँगको भेटमा सन्तोषजनक जवाफ नपाएपछि अर्चना झनै निराश भइन् । ‘हामीलाई सिडिओले भन्नुभयो, दुई जना पक्राउ परेका छन्, एक जना अदालतले छाडिसकेको छ, बाँकीका लागि उच्च अदालत जानुपर्छ,’ उनले भनिन्, ‘त्यसो भए हामी कहाँ जानु? न्याय हामीले कसरी पाउने?’

यसअघि पनि पीडित परिवार र स्थानीय बासिन्दाले दुईपटक जनकपुर–जलेश्वर सडक बिन्धीस्थित क्षेत्रमा अवरुद्ध गरेका थिए । तर, उनीहरूले प्रहरी र प्रशासनको प्रतिक्रिया सुस्त र उदासीन रहँदै आएको आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले अंशुजस्तो किशोरको सुरक्षामा गम्भीर प्रश्न उठाएका छन् । ‘हामी आफैँ वर्षौंदेखि विभेद, हिंसा र उपेक्षाको सामना गर्दै आएका छौँ । अंशुमाथिको हत्या हामीमाथिको पनि आक्रमण हो,’ उनीहरूले भने ।

समुदायका अधिकारकर्मीहरूले प्रहरी प्रशासनको निष्क्रियता, पूर्वाग्रही व्यवहार र राजनीतिक हस्तक्षेपको सम्भावनाप्रति पनि आक्रोश व्यक्त गरेका छन् । उनीहरूले यदि बाँकी आरोपीहरूलाई चाँडै पक्राउ नगरिए आन्दोलनलाई राष्ट्रिय स्तरमा लैजाने चेतावनी दिएका छन् ।