जनकपुरधाम, ११ जेठ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा अवैध काठ तस्करीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ भने सोही सिलसिलामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा छापा पनि मारिएको छ ।

डिभिजन वन कार्यालय जनकपुरधामले आइतबार बिहान सखुवामहेन्द्रनगर सडक खण्ड नजिकैबाट नरेश मण्डललाई नियन्त्रणमा लिएको हो । क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित जलाइध खोलाको किनारमा उनलाई साल जातको गोलिया काठ साइकलमा बोकेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

डिभिजन वन अधिकृत विनोद सिंहका अनुसार मण्डल विगतदेखि नै काठ तस्करीमा संलग्न थिए । ‘बिहान ५ बजे हाम्रो टोली अनुगमनमा निस्किएको थियो,’ सिंहले भने, ‘त्यही क्रममा मण्डललाई काठसहित पक्राउ गरियो ।’ मण्डलसँगै साइकल १ थान र साल जातको गोलिया काठ १ थान बरामद गरिएको वन कार्यालयले जनाएको छ ।

त्यस्तै, क्षीरेश्वरनाथ नगरपालिका–६ बाख्राबजार नजिकै सञ्चालनमा रहेको एक साइनबोर्डविहीन फर्निचर उद्योगमा पनि छापा मारिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उक्त उद्योग मनोहर साहको भएको बुझिएको छ । उक्त उद्योगबाट ३ दशमलव ५ क्युफिट साल जातको काठ फेला परेको वन कार्यालयले जनाएको छ ।

कारवाही टोलीमा डिभिजन वन कार्यालय जनकपुरधामका सव–डिभिजन प्रमुख मनिष लामिछाने, डब्लुसीसी कमाण्डर वैजनाथ सिंह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूको संयुक्त टोलीको सहभागिता रहेको थियो ।

डिएफओ सिंहले धनुषामा काठ चोरी र तस्करी बढिरहेको भन्दै नियमित गस्ती, आकस्मिक छापा र कडाइका साथ निगरानी बढाउने योजना बनाइएको जानकारी दिए । ‘काठ तस्करीमा संलग्न जोकसैलाई कानुनी दायरामा ल्याइनेछ,’ उनले भने, ‘वन संरक्षणका लागि अब कडाइपूर्वक निगरानी गरिन्छ ।’

वन कार्यालयका अनुसार भारतसँग सीमा जोडिएका इलाकाहरूमा काठ तस्करी बढ्दो अवस्थामा छ । त्यसैले स्थानीय तह, सुरक्षा निकाय र सर्वसाधारणको सहयोगमा निगरानी सुदृढ पारिने बताइएको छ ।

वन कार्यालयले नागरिकहरूलाई अवैध काठ तस्करीसम्बन्धी गतिविधि देखे वा थाहा पाए तत्काल जानकारी दिन आग्रह गरेको छ ।